STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार

जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिनुभयो । अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहनुभएको छ भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ । जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहनुभएको निमित्त प्रमुख रञ्जु पोखरेलले बताउनुभयो । त्यस्तै आयोजना कार्यान्वय एकाइ ९शिक्षा० मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताउनुभयो । यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको बताउनुभयो । कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा पाँच, जिल्ला स्वास्थ्यमा दुई, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा एक, विद्युत्मा एक, हुलाकमा सात, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा चार, आयुर्वेदमा दुई, राष्ट्रिय पुनःनिर्माणमा आठ, जिल्ला समन्वयमा चार, डिभिजन वनमा सात, शिक्षा विकास तथा समन्वय एकाइमा एक, भेटेरिनरी अस्पतालमा तीन, मालपोतमा एक, सुन्तला जोनमा छ जना कर्मचारी अनुस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय