STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काष्ठमण्डप पुनर्निर्माण ः भुइँतलाको थाम राखियो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २६, बिहिबार

गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको सक्रियतामा सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको हो । पुनःनिर्माणका लागि कामपा १९, २०, २३ र २४ वडाका वडाध्यक्षको रोहवरमा पुनःनिर्माण समिति गठन गरिएको थियो । उक्त समिति गठन भएपछि गत वर्ष साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम सम्पन्न गरी भदौमा निर्माण क्षेत्र सफा गरिएको थियो । भदौमा सफाइ गर्ने काम सकिएपछि कात्तिक २२ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसा अधिकारीले ‘काष्ठमण्डप निर्माण शुभारम्भ’ पूजा गरेर विधिवत् रूपमा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत गरिएको थियो । पुनःनिर्माण शुरु भएको करीब १० महिनामा पहिलो तला निर्माणको काम सकिएको हो । काठमाडौँको नामको व्युत्पत्ति काष्ठमण्डप पुरानै शैली तीन तल्लाको मा बन्नेछ । काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको विश्वास गरिए पनि बेलायतको दुर्हाम विश्वविद्यालय र विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको छ । विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका अनुसार परम्परागत सामाग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ । काष्ठमण्डपको भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको माटो र ताहाचलको माटो प्रयोग गरिएको छ । प्रदेशसभासमेत रहनुभएका काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक राजेश शाक्यले दुई जिल्लाबाट काठ ल्याइएको जानकारी दिनुभयो । शुरुवाती चरणमा बर्दिबास महोत्तरी बाट मात्र काठ ल्याउने योजना भए पनि पछिल्लो समय चितवनबाट समेत आवश्यक मात्रामा काठ ल्याइएको छ । “पुरातत्व विभागअनुसार ३० प्रतिशत पुरानै काठ प्रयोग हुने भन्ने थियो तर प्रयोग गर्दै जाँदा अनुमानितभन्दा धेरै कम मात्रामा काठको पुनः प्रयोग भयो”, उहाँले भन्नुभयो, “सम्भवतः पुनःनिर्माण सकिँदासम्म १५ प्रतिशत मात्रै पुराना काठको प्रयोग हुने देखिन्छ ।” पुनःनिर्माणका लागि नेपाल टिम्बर कर्पोरेशनसँग विभागको अनुमानअनुसार आवश्यक १७ हजार ५८ क्युफिट काठ ल्याउने सम्झौता गरिएको छ । सम्झौतानुसार हालसम्म चार हजार क्युफिट काठ प्रयोग भइसकेको शाक्यले जानकारी दिनुभयो । काष्ठमण्डपमा प्रयोग हुने ढुङ्गा भक्तपुरबाट ल्याइएको छ भने भक्तपुरकै दक्षिणबाराही इँटा उद्योगमा मौलिक रूपमा तयार पारिएको सादा इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका सचिव गौतम श्रेष्ठका अनुसार पहिले काष्ठमण्डपमा ‘ठूलो मा आप्पा’ र ‘सानो मा आप्पा’ गरी दुईथरीका सादा इँटा प्रयोग भएकाले त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथमा रु १९ करोड ८८ लाखमा निर्माण सकाउने अनुमान कामपाले गरेको थियो । गत असार मसान्तसम्म पुनःनिर्माणका लागि रु तीन करोड ३६ लाख खर्च भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल दैनिक २०÷२५ कामदारले काम गरिरहेका छन् । दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालीगढ पुनःनिर्माणमा खटिरहेका छन् ।
Categorized in राष्ट्रिय