STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कास्कीकोटको धार्मिक एवं ऐतिहासिक महत्व जोगाउने चिन्ता

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

झण्डै छ हजार वर्षअघि कश्यप ऋषिले तपस्या गरेको तपोभूमि र नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोटको समग्र पर्यटकीय विकास यतिखेर चासो र चर्चाको विषय बनेको छ । ऐतिहासिक एवं धार्मिक महत्वको स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको विकासका लागि स्थानीयवासी, जनप्रतिनिधि यतिखेर सक्रियताका साथ लागि परेका छन् ।
स्थानीय तहमा विकासको पहलका साथै प्रदेश एवं सङ्घस्तरमा पनि यसको संरक्षण र विकासका लागि पहल थालिएको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो । समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान९शाह० को दरबारका साथै तत्कालीन समयदेखि नै पूजा आजा गर्दै आइएको गुप्तकालिका मन्दिर रहेको छ ।
गाउँको बीच भागमा रहेको कश्यप ऋषिले स्नान गर्ने गरेको कश्यप ताल र यहाँ रहेको कश्यप धाम पनि यहाँको धार्मिक एवं ऐतिहासिकस्थल भएको उहाँले बताउनुभयो । तीन चार वर्ष अघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको कश्यप तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । अध्यक्ष सुवेदीका अनुसार झण्डै एक हजार ६०० भन्दा बढी जनसङ्ख्या बसोबास गर्ने गरेको कास्कीकोटमा कश्पतालको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो ।
चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस तालको धार्मिक एवं संस्कृतिकरूपमा पनि उत्तिकै महत्व रहेको उहाँले बताउनुभयो । नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि राजा तथा प्रजाले यहाँको पानीको भरपुर उपयोग गर्ने गरेका थिए । ऐतिहासिकता बोकेको ताल संरक्षण एवं विकासलाई लक्षित गरी वडा कार्यालयका तर्फबाट रु दुई करोड १० लाखको लागत अनुमानसहितको विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको छ ।
“झण्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको तालको संरक्षणका साथै वरपर बस्ने स्थान, पानीको फोहोरा, उद्यान आदिलाई योजनामा समेट्ने प्रयास गरेका छौँ”, वडाध्यक्ष सुवेदीले भन्नुभयो, “तालमा पानी नअड्ने समस्याका लागि वैकल्पिक पानीको स्रोत खोज्नुपर्ने देखिएको छ ।” तालको संरक्षण र विकासका लागि स्थानीय तह हुँदै प्रदेश  तथा केन्द्रमा पनि पहल भइरहेको उहाँले बताउनुभयो । तत्कालीन समयमा यस स्थानमा कश्यप ऋषिले तपस्या गरेको कुटीको भग्नावशेष अहिले पनि रहेको जानकारी दिँदै वडाध्यक्ष सुवेदीले सो समयमा ऋषिले सत्सङ्ग तथा प्रवचन गर्ने गरेको धामको गह्रासमेत सुरक्षित रहेको बताउनुभयो ।
तालका साथै यसको सिरानमा नेपालका शाहवंशीय पहिलो राजा कुलमण्डन शाहले राज्य गरेको दरबार एवं त्यहाँस्थित गुप्तकालिका मन्दिरका कारण यस क्षेत्रको धार्मिक एवं ऐतिहासिकरूपमा अत्यन्त महत्व रहेको स्थानीयवासी एवं टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका सहसचिव उदय सुवेदीले बताउनुभयो ।
जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय इतिहासको साक्षी कास्कीकोटका धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षण र विकास अपरिहार्य भएको उहाँले बताउनुभयो । धार्मिक इतिहासको साक्षी कश्यप ताल सुक्दै जानु र यहाँका ऐतिहासिक दरबार तथा मन्दिर उचित संरक्षण हुन नसकेको प्रति सबै गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ । पोखराबाट करीब ११ किमि पक्की बाटो पार गरेपछि पुग्न सकिने यो ठाउँमा अर्को बाटो पोखरा–बाग्लुङ राजमार्गको नागडाँडाबाट पुर्वतर्फ करीब पाँच किमि दूरी पार गर्नुपर्छ ।
नेपालको २४० वर्षे शाहवंशीय इतिहाससँग प्रत्यक्ष जोडिएको कास्कीकोट बाइसे–चौबीसे राजाको समयमा शक्तिशाली चौबीसे राज्य मध्येको एक थियो । इतिहासअनुसार यही राज्यको अधीनमा यहाँका अन्य राज्य चल्थे । कास्कीकोट दरबारमा विसं १११३ वैशाख १४ मा यहाँका राजा ब्रह्म घलेलाई हत्या गरी सिहंवशका छोरा जयदेव खानले राज्य शुरु गरेका थिए ।
जयदेवपछि उनका धेरै पुस्ताले कास्कीकोटमा राज्य गर्दै आएका थिए । तिनै मध्येका कुलमण्डन खानले आफ्नो शासनकालमा थुप्रै राम्रा र साहसिक कामका साथै राज्यको सीमा विस्तार, दरबारको पुनःनिर्माण, औषधोपचारका लागि वैद्यको व्यवस्था तथा गुठी स्थापना आदि गरेका थिए । 
धेरै राम्रा काम गरकै कारण उनले शाह उपाधि प्राप्त गरेको इतिहासमा उल्लेख छ । त्यसै कारण कुलमण्डनलाई नेपालका शाहवंशीय पहिलो राजाका रूपमा लिने गरिन्छ । नेपालको एकीकरणका क्रममा भने  कास्कीकोटमा सिद्घिनारायण शाह राजा थिए । उनैका पालामा कास्कीकोट विशाल नेपाल राज्यमा गाभिएको थियो ।
कास्कीकोटको अर्को महत्वपूर्ण आकर्षण गुप्तकालिकाको मन्दिर हो । विसं १८११ मा जमीनमुनि कालिकाको मूर्ति भेटिएको र उक्त मूर्तिलाई तत्कालीन राजा सिद्घिनारायण शाहले जमीनमुनि नै मन्दिर बनाएर राखी पूजाआजाको व्यवस्था गरेको पाइन्छ ।
नेपालका विभिन्न शक्तिपीठमध्ये यस मन्दिरलाई पनि महत्वका साथ हेरिन्छ । मन्दिरमा दैनिक पूजापाठका साथै भाकल गर्ने तथा पञ्चबलि दिने प्रचलन छ । यहाँबाट माछापुच्छ«े, धौलागिरि, अन्नपूर्ण तथा अन्य हिम शृङ्खलाको नाङ्गो आँखाले अवलोकन गर्न सकिनु अर्को विशिष्टता हो ।
उच्च स्थानमा रहेको मन्दिर र दरबारबाट गाउँको बीचमा रहेको कश्यप तालका साथै तल फेवातालको रमणीय दृश्यले जो कोही पर्यटकलाई लोभ्याउने गरेको स्थानीय वुद्धिजीवी वेदहरि तिमल्सिनाले बताउनुभयो ।
“यो गण्डकी प्रदेशको मात्र नभै समग्र राष्ट्रले नै गौरव गर्ने स्थल हो,” वडा शिक्षा समितिका सदस्यसमेत रहेका तिमल्सिनाले थप्नुभयो, “गुप्तकालिका मन्दिर, दरबार, कश्यप ताल लगायतको संरक्षण र विकासका लागि स्थानीय जागरुकता त आवश्यक छ नै प्रदेश एवं केन्द्र सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।”
Categorized in राष्ट्रिय