कीर्तिपुरको मेयर उम्मेदवार निश्चितप्रायः, नेपाली कांग्रेसबाट नगर सभापति कृष्णमान डंगोल
Janjati Khabar – LALENDRA SHAKYA | २०७८ फाल्गुण १९, बिहिबार
कीर्तिपुर/आउँदो बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तयारीका लागि नेपाली कांग्रेस कीर्तिपुरले सक्रियता देखाएको छ । नेपाली कांग्रेस कीर्तिपुरका नगर सभापति कृष्णमान डंगोल आउँदो स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरको मेयर उम्मेदवार हुने निश्चितप्रायः भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । विशेष स्रोतका अनुसार, नेपाली कांग्रेस कीर्तिपुरमा अर्का मेयर उम्मेदवार २०७४ को स्थानीय चुनावमा नेकपा एमालेका मेयर उम्मेदवार रमेश महर्जनसंगको प्रतिस्पर्धामा पराजित राजकुमार नकर्मी रहेको पनि जानकारी दिएका छन् । उक्त स्रोतका अनुसार, कीर्तिपुर नगर नेपाली कांग्रेस भित्र राजकुमार नकर्मीको भन्दा पनि बलियो पकड कृष्णमान डंगोलको रहेकोले मेयर उम्मेदवार डंगोलले नै पाउने निश्चितप्रायः भइ सकेको बताउँछन् । तर, उम्मेदवारी दिने निर्णय पार्टीको हो, पार्टीले डंगोल या नकर्मी, पार्टीभित्र त्याग, तपस्या, योगदान तथा जनप्रियताको आधारमा उम्मेदवारी टिकट दिने हो, पार्टीले सो मूल्यांकन सही ढंगले गरी सही व्यक्तिलाई उम्मेदवारी दिनुपर्ने देखिन्छ ।
कीर्तिपुर नगरीको नेपाली कांग्रेसभित्र पनि गुटबन्दीका कारण नेता कार्यकर्तामा अनेकौं प्रतिस्पर्धात्मक गतिविधिहरुले प्राथमिकता पाइरहेको देखिन्छ । त्यही गुटबन्दीका कारण कोही डंगोलको विपक्षमा त कोही नकर्मीको विपक्षमा उभिएका छन्,, राजनीतिमा यो जायज पनि हो, पक्ष र विपक्षको ।
विशेष स्रोतका अनुसार, कृष्णमान डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगरका निर्वाचित सभापति भएको सत्यता एवं यथार्थताका कारणले पनि कीर्तिपुर नगरको मेयर पदमा उम्मेदवारी पाउने बलियो सम्भावना रहेको बताउँछन् ।
राजनीतिकर्मीका साथसाथै ललितकला कलेजबाट संगीत शिक्षामा उच्च शिक्षा हासिल गर्नुभएका कृष्णमान डंगोल काठमाडौं उपत्यकाका चर्चित संगीतकर्मी पनि हुन् भने उहाँ शिक्षाविद् पनि हुनुहुन्छ ।
कीर्तिपुर नगरको मेयर हुने इच्छाका साथ अगाडि बढिरहनु भएका कृष्णमान डंगोल भन्नु हुन्छ, ‘आफूले कीर्तिपुर नगरको मेयर पदमा उम्मेदवारी दिन लागेको आफ्नो स्वार्थसिद्धको लागि नभई समग्र कीर्तिपुर र कीर्तिपुरका जनसमुदायहरुको हक हित एवं प्रगति र विकासमा टेवा पु¥याउनको लागि हो । यो भन्दा पहिलेको स्थानीय तहको निर्वाचनमा जस्तो जनप्रतिनिधिहरुले कुनै समूह विशेषलाई भोट बापत तिनीहरुको इच्छा आकांक्षा पूरा गरिदिने आश्वासन दिई भोट माग्ने र चुनाव जित्ने दाऊ आफ्नो नभएको र स्वच्छ तवरले कीर्तिपुर र कीर्तिपुरबासीको सेवा गर्ने दृढ संकल्पका साथ लागेको छु ।’
मेयर उम्मेदवारको लागि पार्टीको निर्णयको प्रतिक्षामा भन्दै कृष्णमान डंगोल भन्नु हुन्छ, ‘पार्टीले जे गर्छ, राम्रै गर्छ । किनकि नेपाली कांग्रेस पार्टी देश र जनताको लागि समर्पित प्रजातान्त्रिक पार्टी हो । म पनि त्यही समर्पणमा आबद्ध छु ।’
Categorized in उपत्यका

