STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा ऐतिहासिक मभिं पोखरी पुनःनिर्माणमा स्थानीयहरुको आक्रोश

Janjati Khabar – Lalendra Shakya | २०७८ पौष २६, सोमबार

कीर्तिपुर ३ वडा खासीबजारस्थित मभिं पुखू (पोखरी) पुनःनिर्माणको सम्बन्धमा त्यहाँका स्थानीय बासिन्दाले कीर्तिपुर नगरपालिका ३ वडाको कार्ययोजनाप्रति आक्रोश पोखेका छन् ।

कीर्तिपुर ३ वडास्थित खासीबजारमा ऐतिहासिक धरोहर सम्पदाको रुपमा लहरै तीन वटा पोखरीहरु अवस्थित छ्न् । भिं पुखू, दथु पुखू र मभिं पुखू नामांकन गरिएको ती पोखरीहरुले कीर्तिपुरको ऐतिहासिकतालाई जीवन्तता दिइरहेको जानकारी इतिहासविदहरु बताउँछन् ।

यस्तै भिं पुखूको पुनःनिर्माण कार्य सम्पन्न भइसकेको छ भने दथु पुखूको पुनःनिर्माण कार्य पनि भइरहेको अवस्था छ र अहिले मभिं पुखूको पुनःनिर्माणको योजना कार्यान्वयन अनुरुप कीर्तिपुर नगरपालिका ३ वडा कार्यालयले अगाडि बढाएको छ । उक्त मभिं पुखू पुनःनिर्माणको क्रममा पुनःनिर्माणको जिम्मा बोकेको ३ वडा कार्यालयले उक्त पोखरीमा सिमेन्ट, कंक्रिट एवं बालुवाको प्रयोग गरी पुनःनिर्माण गर्नलागेको विषयमा पनि स्थानीयहरुको विरोध रहेको छ । स्मरणको लागि, काठमाडौंस्थित ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा पनि यस्तै बालुवा, कंक्रिट एवं सिमेन्ट प्रयोग गर्नलागेको बेला सरोकारवाला एवं स्थानीयहरुको विरोधमा ती कंक्रिट, बालुवा एवं सिमेन्टको प्रयोग विना रानीपोखरी पुनःनिर्माण कार्य सम्पन्न भइसकेको अवस्था छ । यस सन्दर्भमा, पोखरीमा पानीको स्रोतलाई नष्ट नगर्ने हो भने कंक्रिट, बालुवा एवं सिमेन्ट प्रयोग नगर्नु नै उचित हुन्छ भन्ने विचार स्थानीय विज्ञहरु बताउँछन् । 

अब, कीर्तिपुर ३ वडाको उक्त मभिं पुखूमा पनि यस्तै सामग्री प्रयोगबाट पोखरी पुनःनिर्माणको विषयमा विरोधका आवाजहरु गुञ्जायमान भइरहेको अवस्था छ । उक्त मभिं पोखरीको संरक्षण एवं हेरचाह स्थानीय क्लब पासा पुचः कीर्ति क्लबले दशकौं अगाडिदेखि गर्दै आइरहेको स्थानीयहरु बताउँछन् । 

यही सन्दर्भमा उक्त पासा पुचः कीर्ति क्लबका सचिव एवं कीर्तिपुरका साहित्यकार प्रशान्त महासागर नकर्मीले उक्त मभिं पोखरी कीर्तिपुरको सिंगो इतिहास बोकेको पोखरी रहेको जानकारी दिनुभयो । क्लबका सचिव नकर्मी भन्नुहुन्छ, ‘कीर्तिपुरको सिङ्गो इतिहास बोकेको ऐतिहासिक पोखरी मभिं पुखू (पोखरी) जहाँ मृत्यु संस्कारका नित्य कार्य गरिन्छ । आफन्तजनको देहावसान हुँदा १० दिनमा चोख्याउने अस्तित्व बोकेको इतिहास आजसम्म पनि यथावत रुपमा परम्परागत रुपमा चल्दै आइरहेको छ । तर, आज आएर कीर्तिपुर नगरपालिका वडा नं. ३ को एकल पहलमा कसैलाई झूठा आश्वासन बाँडेर आपसी मतभेद् उत्पन्न गराउने भ्रामक कुराहरू छरेर राजनीति गर्न खोजेको दुर्गन्ध फैलाएको स्पष्ट थाहा भएकोले हाम्रो यस पासा पुचः कीर्ति क्लबले कार्यमा अवरोध गरेको छ । तर कसैलाई हानी पु¥याएर क्लबले मुनाफा कमाउन विकासको विरोध गरेको भन्ने पक्का पनि होइन ।’

उक्त पासा पुचः कीर्ति क्लबले ‘अपिल ! (क्लबको चासो)’ शीर्षक दिई एक विज्ञप्ति पनि सार्वजनिक गरेको छ । उक्त विज्ञप्तिमा विगत ४० वर्षदेखि पोखरी संरक्षक संचालन गरी आइरहेको पासा पुचः क्लबलाई बेवास्ता गरी पुनःनिर्माण गर्न लागेको उल्लेख गरिएको छ ।

त्यस्तै, सार्वजनिक भएको विज्ञप्तिमा क्लबको चासो किन रह्यो भन्ने कुरामा उल्लेख गरिएको छ, ‘उपभोक्ता समितिमा सबै पक्ष नसमेटिएकोले, मिति २०७८ पुस १० गते स्थानीयहरुको उपस्थितिमा आयोजना गरिएको भेलाले सहमति विना नै कार्य नगर्न भनिएकोमा आफू खुशी निर्माण गर्न लागेकोले, पोखरी निर्माणको डिजाइन बारे स्थानीयहरुसंग छलफल नगरिएकोले, लागत खर्च बारे प्रष्ट नगरिएको र पोखरीको मापदण्डबारे कसैसंग पनि छलफल र प्रष्ट नपारिएकोले, ऐतिहासिक महत्व बोकेको पोखरी मन लागी तवरले निर्माण गर्न लागेकोले, उपभोक्ता समितिले कहाँबाट र कसरी श्रमदान लागत जुटाउँछ भन्ने अन्यौल देखिएकोले’ उक्त स्थानीय पासाः पुचः कीर्ति क्लबको चासो रहेको विषय विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

क्लबका सचिव प्रशान्त महासागर नकर्मीले क्लबले पाईरहेको अभिभारा क्लबकै काँधमा होस् भनी स्थानीय विकासमा हम कदम हुन खोजिएको कुरालाई बेग्लै रुप दिन खोज्नु मूर्खता मात्र हो भन्नु हुँदै आफ्नो विचार राख्नु हुन्छ, ‘खासीबजार ३ वडाको मभिं पोखरी पुनःनिर्माण गर्दा इतिहास मेटिनु भएन, व्यक्तिको स्वार्थमा भन्दा नि समाजको हितमा बन्नु पर्छ । सत्यतथ्यको आधारमा निर्माण हुनुपर्र्छ । भोक लाग्यो भन्दैमा अपच हुनेगरी खानु वा खुवाउनु एक प्रकारको अपराध हो, अपराध संरक्षण कार्य स्थानीय निकायको हुनुभएन ।’

पासा पुचः कीर्ति क्लबका सचिव नकर्मीले कीर्तिपुर ३ खासीबजार अवस्थित मभिं पोखरी पुनःनिर्माण कसरी गर्नुपर्छ भन्ने विषयमा उहाँले उक्त पोखरी मृत्यु संस्कारसंग सम्बन्धित पोखरी भएको कारण स्थानीय विभिन्न संस्थाहरुको रोहवरया बन्नुपर्छ भन्ने विचार राख्नुभयो । उहाँले एउटा फोटो टाँगेकै भरमा गहिराई र चौडाई लगायत लम्बाईको ब्याख्या नगरी बजेट छ भन्दैमा खर्चलाई विकासै भन्ने हो भने हामीलाई मान्छे किन भन्नु पर्यो भन्ने तर्क राख्नुभयो ।

यस्तै सचिव नकर्मीले कीर्तिपुरको ऐतिहासिक पोखरी भएकै कारण उक्त मभिं पोखरी इतिहासविद् एवं पुरातत्व विभाग अन्तर्गत नै पुनःनिर्माण हुनुपर्छ भन्नु हुँदै सिमेन्ट, कंक्रिट बालुवा प्रयोग गरी पोखरीलाई पानी ट्यांकीको रुप दिनलागेको विचार राख्नुहुन्छ । 

यही क्रममा पासा पुचः कीर्ति क्लबका सल्लाहकार एवं समाजसेवी आकर्षण प्रधानले चासो हुनु समसामयिक, स्वाभाविक छ र यसमा कीर्तिपुर नगरपालिकाले समयमैं समाधानका उपयुक्त बाटो पहिल्याउनु जरूरी छ भन्ने विचार राख्नुहुँदै विकास सबैको साझा उत्तरदायित्व र जिम्मेवारी हो भन्नुहुन्छ ।

यही मभिं पोखरी पुनःनिर्माणको विरोधमा हाल कीर्तिपुर ३ वडा खासीबजारस्थित स्थानीय पासा पुचः कीर्ति क्लबका पदाधिकारीदेखि स्थानीय बासिन्दाहरु आन्दोलित भइसकेको अवस्था छ । समयमैं कीर्तिपुर नगरपालिका ३ वडा कार्यालय एवं सिंगो कीर्तिपुर नगरपालिकाले यस विषयमा जनमानस अगाडि खुल्ला रुपमा जनचाहना अनुरुप र ऐतिहासिक महत्वलाई कायम राख्ने आधारलाई शिरोपर गरी समाधानको बाटो रोजी पुनःनिर्माणलाई अगाडि बढाउने कार्यलाई निरन्तरता दिनु जरुरी देखिन्छ ।

Categorized in उपत्यका