STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र १२, बिहिबार

कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ । 

 तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस कार्यबाट सेवाग्राही सर्वसाधारण समस्यामा परेका छन् । नगर प्रमुख कृष्णमान डंगोलको यस ब्यवहारबाट उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता रुष्ट भएकी छिन् ।

 यसभन्दा अघि पनि कीर्तिपुर नगरपालिकाका दिवंगत नगर प्रमुख राजकुमार नकर्मी उपचारको क्रममा भारत प्रस्थान गर्नुभएको बेला उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनितालाई कार्यबाहकको जिम्मेवारी नसुम्पी भारत प्रस्थान गरेका थिए ।

 भ्रमणमा या कामको सिलसिलामा यदि नगर प्रमुख देश बाहिर जानुपर्ने अवस्थामा उप–प्रमुखलाई कार्यबाहकको जिम्मेवारी सुम्पेर जानुपर्ने नियम कानून हुँदाहुँदै पनि ती नियम कानूनको बेवास्ता गरी सेवाग्राही जनतालाई किन दुःख दिन चाहन्छन् त नगर प्रमुख रु आखिर कीर्तिपुर नगरपालिकामा मात्र यस्तो व्यवहार किन रु यो जनगुनासाका आवाज हुन् ।

 यस विषयमा कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनिताले कीर्तिपुर नगरबासीमा अनुरोध गर्दै सामाजिक संजालमा आफ्नो विचार लेख्नु हुन्छ –

 “आदरणीय कीर्तिपुर नगरवासीमा अनुरोध !!!

विपन्न नागरिक औषधि उपचार कार्यक्रम लगायतका सिफारिसहरुका लागि नगरपालिका प्रमुखबाट निर्णय लगायतका सिफारिसमा हस्ताक्षर गर्नु पर्ने व्यवस्था रहेकोमा निजको अनुपस्थितिमा उपप्रमुखबाट हस्ताक्षर गराउनको लागि दैनिक सेवाग्राहीहरुको माग भएको सन्दर्भमा मिति २०८२–०४–२७ मा भएको नगर कार्यपालिका बैठकबाट पारित गरि कीर्तिपुर नगरपालिकाका प्रमुखज्यू  २०८२–०५–०७ देखि १७ गतेसम्म मित्र राष्ट्र जापानको भ्रमणमा जानु भएको तर ​स्थानीय सरकार सञ्चालन ऐन, २०७४  दफा १६ को उपदफा ४ को खण्ड क  १२ को व्यवस्था अनुसार कार्यबाहकको जिम्मेवारी नतोकिकन विदेश भ्रमणमा जानु भएको हुँदा प्रमुखको पदीय हैसियतबाट हुने कार्य सम्पादन उपप्रमुखबाट नहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”

कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको यो व्यवहारबाट सेवाग्राही जनसमुदायमात्र नभई समस्त नगरबासी नै स्तब्ध भएका छन् । 

नगर प्रमुख कृष्णमान डंगोलको यो व्यवहारलाई नगरबासीले ठूलो गल्तीको रुपमा लिएका छन् भने उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनितालाई पटक पटक नगर प्रमुखले कठपुतलीको रुपमा मात्र हेरिएको ठोकुवा गरेका छन् । 

Categorized in उपत्यका