STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २७, बुधबार


बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ ।

    कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा ९रक्ती०, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी ९काँचो फर्सीका स–साना दुई थरी चाना०, अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

    दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को  संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउँछन् । सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्तरुपमा काटेर भाग लगाएको राँगोको मासु घरघरमा भित्र्याउने प्रचलन छ । यसलाई दसैँको मासु भित्र्याएका भनिन्छ । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन  छ ।

Categorized in उपत्यका