STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन ः सभापति देउवा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २५, बुधबार

कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । 
नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो । 
सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनुपर्छ भन्नुभयो । सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उहाँले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिनुभयो । 
“गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्था गरेका हुन्”, उहाँले भन्नुभयो । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताउनुभयो । 
काङ्ग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन उक्त अभियानले सहयोगीको भूमिका निर्वाह गर्छ भन्नुभयो ।
जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस भएको उल्लेख गर्दै उहाँले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । 
नेता सिंहले काङ्ग्रेसको विचारसँग मेल खाने व्यक्तिलाई समेट्नुसमेत जागरण अभियानको मुख्य उद्देश्य रहेको बताउँदै पार्टीलाई विधिसम्वत ढङ्गले अनुशासित रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
जागरण अभियान काठमाडौँका केन्द्रीय प्रतिनिधि एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जागरण अभियानले पार्टीलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताउनुभयो । “काङ्ग्रेसलाई सवल, सशक्त र जनतालाई बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो । 
काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जनताको प्रश्न संसद्मा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाउनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै “काँग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न सक्दैन भन्नुभयो ।” 
काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले पार्टीभित्र रहेको गुठ उपगुठको अन्त्य गरी पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । 
आजदेखि शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने काङ्ग्रेसले जनाएको छ । 
Categorized in राजनीति