STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुमालको पुख्र्यौली पेशा सङ्कटमा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १५, शुक्रबार

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका –८ मा बस्ने कुमाल जातिको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको छ । बर्दियाको गुलरियामा हाटबजारहरुमा माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिंगारदान, चुलोसमेत बनाई आम्दानी गर्दै आएका कुमालहरुको पेशा अहिले रेडिमेड झिलीमिली बत्ती, बल्ब, भाँडाकुँडाका कारण सङ्कटमा पर्नुकोे साथै परिवार पाल्न समस्या भएको गुलरिया नगरपालिका वडा नं ८ बस्ने विशाल कुमालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चौथो पिँढी भयो यो पेशा गर्न लागेको पहिले–पहिले निकै व्यापार हुन्थ्यो, घरपरिवार चलाउन सजिलो हुन्थ्यो तर अहिले बजारमा आएका रेडिमेड, प्लाष्टिकका भाँडाकुँडामा ग्राहकहरुको आकर्षण बढ्दै जाँदा हाम्रो व्यापार दिनप्रतिदिन घट्दै जाँदा हामी सङ्कटमा परेका छौँ ।” नेपालीको महान् चाडपर्व दशैँ, तिहार, छठमा तथा धार्मिक सामाजिक संस्कारका बेला प्रयोग हुने विद्युतीय झिलमिलीले गर्दा कुमाल जातिको पुख्र्यौली व्यवसायमा कमी आउन थालेको छ । वर्षौँदेखि माटोका सामाग्री निर्माण गरी बेचेर जीवन धान्दै आएको कुमाल जातिको पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिली बत्तीको बढ्दो प्रयोगले माटाको सामग्रीको बिक्री घट्दै गएका कारण पेशा सङ्कट आएको छ । पहिले नदीबाट माटो सित्तैमा पाइन्थ्यो अहिले गुलरियामा नपाएर तारातालबाट रु ५०० प्रति टाँगा माटो किनी सामग्री निर्माण गरिरहेको उहाँले सुनाउनुभयो । गुलरियाको वडा नं ८ मा करीब ६० जनाको सङ्ख्यामा बसोबास गरिरहेको कुमाल ९कसगर० परिवारको दैनिक खर्च तथा बालबच्चालाई शिक्षादिक्षा प्रदान गर्न यस पेशा सङ्कटमा परेको छ । आजापुखादेखि गुलरिया, मैनापोखर, ताराताल, राजापुरसम्मका ग्राहकहरु आफनो सामग्री किनमेल गर्न आउँथे तर अहिले त गुलरियाका मात्रै आउने गरेको ५० वर्षीय रामु कुमालको भनाइ छ । उहाँले थप्नुभयो “गुलरियामा मात्र बिक्री हुन्छ, खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्री दियो, पाला, गाग्रीहरुको प्रयोग गर्ने संस्कार बस्दै आएको थियो ।” “तर, पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले हाम्रो व्यवसायमा सङ्कटमा परेको छ ।” यही पेशादेखि आम्दानी गरेर बालबालिकालाई शिक्षा तथा घरपरिवार जीविकोपार्जन हुन्थ्यो, तर अहिले विद्युतीय र प्लास्टिकका सामग्रीका कारण आम्दानीमा समेत कमी आएको छ । त्यही भएर बालबालिकालाई शिक्षा तथा घरपरिवार जीविकोपार्जन गर्न गाह्रो परिरहेको उहाँको चिन्ता छ । गुलरिया वडा नं ८ का वडाध्यक्ष धमेन्द्र बानियाँले भन्नुभयो, कुमालहरुको पेशा निकै दुःखदायी छ कहीँकतैबाट पनि अहिलेसम्म कुनै पनि किसिमका उनीहरुलाई सहयोग र पेशाको व्यावसायिक बढावाको निम्ति उत्प्रेरणामूलक कार्यक्रम आएको छैन । यसप्रति सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कुमाल जातिको पेशालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुख्र्यौली पेशालाई स्थानीय सरकार, विभिन्न सरोकारवाला निकायले ध्यान दिई स्थानीय तहमा भएको पेशा संस्कृति र संस्कारलाई व्यावसायिक बनाई उनीहरुको संरक्षण एवं संवद्र्धन, प्रवद्र्धन गर्नुपर्ने अध्यक्ष बानियाँको भनाइ छ ।
Categorized in राष्ट्रिय