STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १६, सोमबार


देउखुरी, १६ साउन , प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उहाँलाई नेपाली भाषाकै बानी प¥यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उहाँ कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने हुनुभएको छ ।

    भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा ९पहिलो सत्र० र ६० घण्टा ९दोस्रो सत्र० को प्रशिक्षणमा उहाँले आफ्नै मातृभाषा सिक्ने अवसर पाउनु भएको हो । पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिक्नुभएको थियो । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उहाँ पनि गीत लेख्न र गाउन सक्ने हुनुभएको हो । 

    कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ । उहाँ भन्नुहुन्छ, “भाषा बचाउन गीत लेखेकी हुँ । कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।”

    बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । कुसुन्डा भाषाको कक्षा लिइसक्नुभएकी उहाँ घरपरिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्नुहुन्छ । मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उहाँ बताउनुहुन्छ ।

    कुसुन्डा भाषा सिक्न थालेदेखि उहाँले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सुरुसुरुमा त बुझिन्नथ्यो । पढ्दै जाँदा सजिलो भएको छ । धेरै कुरा जान्ने भएका छौँ । यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौँ ।”

    भाषा जोगाउने प्रयास

    घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ कुसुन्डा भाषाको एक मात्र जीवित पूर्ण वक्ता हुनुहुन्छ । उहाँकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ ।

    तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूर्ण वक्ता दुईजना मात्रै थिए । तीमध्ये एकजना दाङको लमही नगरपालिका–३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो ।

    कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका–५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आउनुभएको छ । भाषा आयोगको सहयोगमा उहाँले २०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गर्नुभयो । विसं २०७८ मा कुसुन्डा गिपन ९कुसुन्डा भाषा कक्षा० र आधारभूत पाठ्यसामग्री ९क० र खण्ड ९ख० प्रकाशन गर्नुभएको छ ।

    त्यस्तै सोजाक ९कुसुन्डा पाठ्यसामग्री० प्रकाशन भएको छ । यसै वर्ष उहाँ कुसुन्डाको वृत्तचित्र तयार गर्दै हुनुहुन्छ । उहाँका गेम्येहाक, कुसुन्डा व्याकरण ९कुसुन्डा र नेपाली भाषामा० प्रकासोन्मुख पुस्तक हुन् । आलेको मातृभाषा मगर भए पनि उहाँले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गर्नुभएको छ ।

    कुसुन्डा भाषा संरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन् । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्मा बताउनुहुन्छ । उहाँका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो । कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उहाँको भनाइ छ । शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन् । यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन् । कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उहाँको भनाइ छ ।

    भाषालाई प्रविधिसँग जोड्ने योजना   

    भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक आले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका वृत्तचित्र बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।” कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डा बोल्न त सक्नुहुन्छ तर लेख्न सक्नु हुन्न । उहाँलाई लेखनमा आलेले सहजीकरण गरिरहनु भएको छ ।

    दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । सुरुसुरुमा ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा भाषाको कक्षा चलाइएको थियो । यो जिम्मेवारीलाई अहिले कमलाले निरन्तर अगाडि बढाइरहनु भएको छ । कुसुन्डा भाषा बोल्न जान्नेहरूको सङ्ख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ । भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा समुदायका लागि तालिम पनि सञ्चालन गरिएको थियो ।

    अनुसन्धानकर्ता आलेको दोस्रो पुस्तक ‘सोजाक’ प्रकाशित छ । आलेले तयार गर्नुभएको पुस्तक ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यस पुस्तकमा पाठ्यसामग्रीलाई वर्णमालासहित २१ वटा पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ । लुप्तप्रायः स्थितिमा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास र दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले तयार पारिएको यस पुस्तकमा कुसुन्डा भाषाको शब्द सङ्कलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो भएको पुस्तक लेखक आले बताउनुहुन्छ ।

    एकल भाषाका रूपमा मानिएको कुसुन्डा भाषाको छुट्टै महत्व छ । कुसुन्डा भाषा कुनै एक समुदायको मात्र नभई देशकै महत्वपूर्ण सम्पदा पनि हो । पुस्तक पढिसकेपछि अभ्यास, कुसुन्डा शब्दलाई नेपाली, नेपाली शब्दलाई कुसुन्डा, कुसुन्डा वाक्यलाई नेपाली र नेपाली वाक्यलाई कुसुन्डा भाषाको वाक्य बनाउने क्रियाकलाप समावेश गरिएको छ । थोरै जनसङ्ख्यामा रहेका तर विभिन्न जिल्लामा छरिएर बसोबास गरेका र शिक्षामा पछि परेका यस समुदायलाई कुसुन्डा भाषामा साक्षर बनाउन पुस्तक निकै उपयोगी छ । पुस्तकले कुसुन्डा भाषा कक्षामा सहभागीलगायत कुसुन्डा भाषा अध्ययन गर्न चाहने पाठकलाई समेत सहयोग पुगेको छ । 
राष्ट्रिय जनगणना २०६८ अनुसार, दाङमा कुसुन्डा भाषा बोल्नेमा १४ पुरुष र १४ महिला गरी २८ जना रहेको उल्लेख छ । जनगणना अनुसार, देशभर १२३ पुरुष र १५० महिला गरी २७३ जना कुसुन्डा रहेको छ । कसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले २०७९ असारमा गरेको अध्ययनमा १५५ जना कुसुन्डा गरेको जानकारी दिनुभएको छ । भाषा संरक्षणका लागि सङ्ख्या यकिनका लागि अध्ययन गर्दा यस्तो नतिजा आएको उहाँको भनाइ छ ।  दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको उहाँ बताउनु हुन्छ ।
कुसुन्डा समुदायको वृत्तचित्र निर्माणको तयारी
कुसुन्डा भाषा लोप हुन थालेको भाषा भएकाले यसलाई बोल्न पछिल्लो पुस्तालाई सिकाउने काम भयो तर सो भाषीका मानिसले प्रयोगमा ल्याएका रहनसहन, धर्म संस्कृति र अन्य संस्कारलाई जीवन्त राख्नका लागि  वृत्तचित्र चित्रण  गर्न थालिएको हो ।  कुसुन्डा भाषाका वक्ता लीलबहादुर र कमलासँग मिलेर वृत्तचित्र निर्माणको काम सुरु गरेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले जानकारी दिनुभयो । वृत्तचित्रमा आवाज अन्तरक्रियात्मक छ । अर्थात् यो जो कोहीले हेर्छ त्यस व्यक्तिले कुसुन्डा भाषाका शब्दहरू सिक्न ठूलो स्वरमा उच्चारण गर्नुपर्छ । वृत्तचित्रमा ज्ञानीमैया र उहाँले आफ्नो मातृभाषालाई पुनरुत्थान गर्न गरेका प्रयासलाई सम्मान गरिएको अनुसन्धानकर्ता आलेले जानकारी दिनुभयो  ।
नाउ हियर मिडियाले कुसुन्डा समुदाय र नेपालका साझेदारहरूसँग मिलेर भाषा पुनरुत्थान र दस्ताबेजीकरण गर्न अमेरिकास्थित निय तेरओ फाउन्डेशनको सहयोगमा काम भएको हो ।
यो संस्थाले १० वर्षदेखि ‘कुसुन्डा’ परियोजनामा काम गर्दै आइरहेको छ । वृत्तचित्र निर्माता गायत्री परमेश्वरन र फिलिक्स गएड्ट्केले नेपाल भ्रमण गर्ने क्रममा कुसुन्डा समुदाय र यसको मातृसत्तात्मकता व्यक्तित्व, ज्ञानीमैया कुसुन्डा–कुसुन्डा भाषाको अन्तिम बाँकी वक्ताहरूमध्ये एकसँग परिचय भएपछि वृत्तचित्र निर्माणको पहल सुरु भएको थियो । रासस

Categorized in राष्ट्रिय