STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई 

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गर्नुभएको हो । 
रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहनुभएका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो । सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो । 
उक्त कोषबाट वर्षेनी गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराउनुभयो । विसं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ । 
विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहनुभएको थियो । 
यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रदान गरिएको हो । सिफारिस समितिका अन्य सदस्यमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी रहनुभएको थियो ।
Categorized in राष्ट्रिय