STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृष्ण मन्दिरमा भक्तजनको भीड

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ६, शुक्रबार

भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । आज राति १ बजेदेखि भगवान् श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको हो । राति १ बजे पाटनमा भगवान् श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न दिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । धारीले भन्नुभयो, “कृष्ण मन्दिरमा सहजतापूर्वक भक्तजनले दर्शन गर्न पाऊन् भनी राम्रो व्यवस्था मिलाएका छौँ ।” मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउनेपानी र विभिन्न सङ्घसंस्थाले स्वयंसेवक खटाएका छन् । यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबले भक्तजनलाई दर्शनमा सहज बनाउने काम गरिरहेका छन् । सो मन्दिर वि।सं १६९३ मा राजा सिद्धिनरसिंह मल्लले बनाएका हुन् । ढुङगाबाट बनेको २१ गजूरको सो मन्दिरमा रामायणका पूरा कथा अङ्कित रहेको बताइन्छ । उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजन ‘व्रत’ बसी श्रीकृष्णको पूजा लगाउने र रातभर जाग्राम बसेर बिताउँछन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । –––
Categorized in राष्ट्रिय