STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

केदारनाथको मन्दिर उद्घाटन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको हो । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गर्दै उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको औँल्याउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्र्धारित समयभन्दा अगावै केदारनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भएको बताउँदै सम्पदा पुनःनिर्माणमा कहिल्यै पनि अरुको भर पर्न नहुने बताउनुभयो । त्यस अवसरमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, कार्यक्रमका सभापति एवं भक्तपुर नपा–३ का वडाध्यक्ष राजकृष्ण गोरालेलगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूना रहेको चर्चा गर्नुभयो । कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।
Categorized in राष्ट्रिय