कैदीबन्दी महिलाले उत्पादन गरेको झोला खरीद
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार
झापा जिल्ला कारागारका महिला कैदीबन्दीलाई एबिसी नेपालले आत्मनिर्भर बनाउन ‘सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने नारा सहित सञ्चालन गरेको तीन महीने झोला सिलाइबुनाइ तालीम समापनका अबसरमा सहभागीहरूले झोला खरिद गरेका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्र प्रहरी गण चन्द्रगढीका प्रहरी उपरीक्षक रेशमकुमार थम्सु, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईलगायतले दर्जन बढी झोला खरीद गरेर सहयोग गरेका थिए ।महिलाले कारागारमा उत्पादन गरेका झोला जिल्लाका सबै कार्यालय प्रमुखलाई खरीद गरेर सहयोग गर्न प्रजिअ दाहालले आग्रह गर्नुभयो ।
उनीहरुलाई झोला बनाउनका लागि चाहिने कच्चा पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराएको एबिसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले बताउनुभयो ।हाल कारागारमा १५० बढी महिला कैदीबन्दी छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोड शाखा अध्यक्ष कुमार भट्टराईले महिला कैदीबन्दीलाई झोला सिलाउने उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कारागार प्रमुख राजेन्द्र निरौलाले यहाँ उतपादित झोलाको बजारीकरणका लागि सहयोग गर्ने बताउनुभयो । तालीममा १५ महिला कैदीबन्दीले भाग लिएका थिए । उनीहरुलाई लक्ष्मी ब्याग उद्योग चन्द्रगढीका व्यवस्थापक विष्णुलाल राजवंशीले तालीम दिलाउनुभएको थियो ।
Categorized in राष्ट्रिय


