समाजवादी नेता श्रेष्ठले आफ्नो पार्टी विश्वमा कोभिड-१९ नामले झण्डै १६२ देशमा संक्रमित भइरहेको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिनका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै भने, ‘कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ । नेपाल सरकारले यसको नियन्त्रणका सन्दर्भमा देशको कुनैपनि भागमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । मानव जीवनभन्दा माथि राज्य र पार्टीका कार्यक्रम, भेला आदि हुन सक्दैन । यस्तो संकटको घडीमा नेपाल सरकारसँग सहकार्य गर्न र त्यसको नियन्त्रणका लागि सहयोग गर्न समाजवादी पार्टी तयार छ ।’
सहअध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो पार्टीले देशव्यापी रूपमा पार्टी विस्तार तथा सुदृढीकरण (विसु) अभियान चलाइरहेको सबैलाई जानकारी नै छ । अब सबै तहका समितिहरूले कोभिडविरुद्धको अभियानमा आआफ्नो तहका सरकारसँग सहकार्य गरी अगाडी बढ्नु पर्दछ । त्यसैले २५ जनाभन्दा बढी उपस्थित हुने पार्टीका सबै भेला, प्रशिक्षणहरू स्थगित गर्नु पर्दछ । तर बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडी लाग्नु हुँदैन ।’ उनले भने, ‘विसु अभियान अन्तर्गतका ससाना जरुरी भेटघाट, बैठक तथा पार्टी समायोजन कार्यक्रमहरू जारी नै रहने छ ।’
Categorized in राजनीति