STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाविरुद्धको खोपका लागि माघ १६ देखि २० सम्म विद्यालय खुलाइने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

माघ ४, काठमाडौं -  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृह मन्त्रालयमा मंगलबार भएको बैठकले उक्त निर्णय गरेको हो ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि सिफारिस गरेको थियो । सोही आधारमा सरकारले गरेको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रहसमेत गरिएको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताए । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उनले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन दिए ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको सहभागिता थियो ।

माघ १६ देखि २० मा खोपका लागि विद्यालय खुलाइने

बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ । रासस

Categorized in राष्ट्रिय