कोरोनासँग लड्नका लागि एकजुट हुन मेयरको अनुरोध
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको समाचार आएदेखि उहाँको स्वास्थ्य स्थिति बारे विभिन्न माध्यमबाट चिन्ता पोख्नेहरुको संख्या निकै बढ्न थालेको छ भने आफ्नो स्वास्थ्य स्थिति बारे चिन्ता लिने शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले आज एक विज्ञप्ति जारी गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । आज एक अपिल जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उच्च सावधानी अपनाउँदै कोभिड – १९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको प्रमुख शाक्यले अपिलमा उल्लेख गर्नुभएको छ । उहाँले अपिलमार्फत कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराउनु भएको छ । देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई उहाँले आत्मसात् गरेको बताउँदै प्रमुख शाक्यले —विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई ग्रहण गरेको बताउनुभएको छ । मेयर शाक्यले सबैको शुभेच्छालाई सोही अपिलमार्फत धन्यवाद भन्नु भएको छ भने आफुलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म उहाँको प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्नु भएको छ साथै उहाँले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गर्नुभएको छ । Categorized in उपत्यका


