कोरोना अपडेट : निकाे हुने ६० लाख, मर्ने ५ लाख ३० हजार
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
न्यूयोर्क, २१ असार (रासस–एएनआई) – महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ ।
विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।
भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार सङ्क्रमित
कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् ।
सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।
दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।
तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय