कोरोना संक्रमण रोक्न भारतले सीमा बन्द गर्दै
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २९, बिहिबार
काठमाडौं– कोरोना भाइरस संक्रमण फैलन नदिन भारतले एक महिनाको लागि आफ्ना सीमा बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अप्रिल १५ (२०७७ वैशाख ३) सम्मको लागि भारतले आफ्ना सबै सीमा बन्द गर्ने निर्णय गरेको छ ।
इन्डियन एक्सप्रेसले जनाएअनुसार भारतले विदेशीलाई दिने भिसा पनि हाललाई रद्द गरेको छ । अब कोही विदेशी पर्यटक भारत प्रवेश गर्न सक्दैन । आफ्ना नागरिकहरुलाई पनि विदेश यात्रा नगर्न अपील जारी गर्दै भारतले स्थल सीमा जोडिएका देशहरुबाट आउने यात्रुलाई समेत निषेध गरेको छ । साथै भारतले निश्चित चेकप्वाइन्ट खडा गरी निगरानी र चेकजाँचलाई चुस्त बनाउने निर्णय गरेको छ ।
कोरोना भाइरस फैलन नदिन यस्तो निर्णय गर्नुपरेको जानकारी भारतले दिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपश्चात् भारतले बुधबार साँझै यसप्रकारको कडा निर्णय लिएको हो ।
भारतले यथावत रहेका भिसा, कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भिसालाई भने तत्काल रद्द नगर्ने भएको छ । भारतले गैरआवासीय भारतीय कार्डधारीलाई निःशुल्क भिसा दिइआएकोमा महिनादिनको लागि त्यसमा पनि प्रतिबन्ध लगाएको छ ।
यी सबै निर्णय शुक्रबारदेखि लागू हुने जनाइएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनामा भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबै भारत प्रवेश गरेका विदेशी तथा विदेशबाट भारत पुगेका भारतीय नागरिक रहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय