STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो । मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् । मनकामना क्रङ्क्रिट उद्योगले अनुमति नै नलिई सञ्चालन गरेको क्रसर उद्योगले अवैध उत्खनन र डम्पिङ गर्दा पानीको मुहान सुकेको मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका अध्यक्ष ज्ञानु कुमालले बताउनुभयो । क्रसर उद्योग सञ्चालन गर्ने क्रममा नै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको समस्या भएको कुमालले जानकारी दिनुभयो । सञ्चालन हुन लागेको क्रसर उद्योगको छेउमै कालिका नगरपालिका–६ मा रहेको बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहको मुहान रहेको छ । मझुवा बुलबुले खानेपानी अन्तर्गत कालिका नगरपालिका–६ का दुई २३० घरधुरीले सो खानेपानी प्रयोग गर्दै आएका छन् । यस संस्थाअन्तर्गत २४ वटा धारा रहेको छ । सोही खानेपानी स्थानीय आधारभूत विद्यालय गुराउ चौरका विद्यार्थीले समेत प्रयोग गरिरहेका छन् । त्यस्तै बाँसघारी मझुवा खानेपानीअन्तर्गत २२२ घरधुरी र पृथ्वी माविका विद्यार्थीले पानी खाइरहेका छन् । कालिका नगरपालिका–८ को जुटपानी बजार नजिकैको सो खानेपानी मुहानबाट विसं २०६० देखि उनीहरुले खानेपानी खाँदै आएका थिए । मनकामना क्रङ्क्रिट उद्योग नामको संस्थामार्फत दर्ताबिना क्रसर उद्योग सञ्चालन गर्न लागेको गाउँलेको आरोप छ । करीब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगको डम्पिङको बालुवा गिट्टी ढुङ्गा र भवनको जग हेर्दा क्रसर उद्योग नै सञ्चालन गर्न लागेको कालिका नगरपालिका–८ का अध्यक्ष इमप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘‘ब्लक उद्योग राख्ने भनेका कारण मैले अनुमति दिएको हुँ’’ अधिकारीले भन्नुभयो,“आसपासमा रहेका स्थानीयवासीको मञ्जुरी लिएका कारण स्वीकृति दिएको हो ।” क्रसर राख्ने विषयमा भने आफू अनभिज्ञ रहेको अधिकारीको भनाइ छ । स्थानीयवासीका अनुसार वडाध्यक्षलाई समेत झुक्काएर क्रसर उद्योग सञ्चालकले डम्पिङको काम गरेका थिए । पानीको हाहाकार मच्चिएपछि सो क्षेत्रमा क्रसर उद्योग सञ्चालनका लागि रोक लगाइएको कालिका–६ का अध्यक्ष विनोद रेग्मीले बताउनुभयो । पहिला जनतालाई पानीको व्यवस्था हुनुपर्ने र त्यसपछि मात्र क्रसर उद्योगको संरचनाको काम अगाडि बढ्ने गरी आफूले पहल गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । क्रसरका लागि भवनको जग खनेपछि धारामा एक हप्तादेखि पानी नआएको र गाउँलेहरुले दुःख पाएको रेग्मीले बताउनुभयो । विसं २०६१ देखि उपभोग गर्दै आएको पानी अहिले एक्कासि बन्द हुँदा उपभोक्ता मारमा परेको उल्लेख गर्दै रेग्मीले खानेपानीको मुहान नै सुक्नेगरी काम हुनु दुःखको कुरा भएको बताउनुभयो । धारामा भने एक हप्तादेखि पानी नआएपछि नजिकैको मन्दिरमा भएको इनारको पानी मोटरले तानेर गाउँलेहरुले खान बाध्य भएका छन् । क्रसर उद्योगमा ठूला राजनीतिक दलका पहुँचवाला व्यक्तिको लगानी रहेको छ । क्रसर उद्योगमा चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीसहित बलराम शर्मा खनाल, परशुराम घिमिरे, शिव थापा, प्रह्लाद सापकोटा, गुणराज दवाडी, पूर्णबहादुर अम्गाइँ, एकेश भण्डारी र राजेन्द्र ढुङ्गानाको लगानी रहेको छ । उद्योग सञ्चालक राजेन्द्र ढुङ्गानाले तत्काल क्रसर उद्योग सञ्चालन नभइ डम्पिङ मात्रै गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो,“कयर खोलामा साथीहरुले ठेक्का पार्नुभएको छ, त्यही ढुङ्गा गिटी यहाँ ल्याएर डम्पिङ गरौँ भन्ने सोच बनाएको हो ।” ढुङ्गानाले अगाडि थप्नुभयो, “पानी सुक्छ भन्ने अनुमान नै भएन ।” क्रसर सञ्चालकले खानेपानीको अर्को विकल्प खोजेर उपभोक्तालाई नगरपालिकाको अनुरोधमा बोरिङ खनिदिने सहमति भएको कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो । उहाँले पानीको मुहान नजिकै खन्नै नहुने ठाउँमा खनेका कारण समस्या आएको जानकारी दिनुभयो । विसं २०५९ मा फनबोर्ड नेपालको सहयोगमा स्थानीयवासीको आर्थिक र श्रमदानबाट सञ्चालनमा आएको हो । कालिका नगरपालिका–६, ७ र १ खानेपानीका लागि समस्याग्रस्त क्षेत्र समेत हुन् । यी वडाका वडावासी अहिले पनि स्वच्छ खानेपानी खान नपाएर समस्यामा परिरहेका छन् । क्रसर सञ्चालन गर्न लागिएको ठाउँ मापदण्ड विपरीत छ । प्रदेश नं ३ सरकारको नदीजन्य पदार्थ सङ्कलन र उपयोग सम्बन्धी कार्यविधिमा नदी खोलाको किनारबाट पहाडमा तीन सय मिटर र तराईमा पाँच सय मिटर पर क्रसर उद्योग सञ्चालन गर्नुपर्छ । तर त्यहाँ सो मापदण्ड पूरा गरिएको छैन् ।
Categorized in राष्ट्रिय