ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठको सम्झनामा राष्ट्रकवि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार
ग्ल्यामर फोटोग्राफिका लागि ख्याति कमाएका फोटोग्राफर राजीव श्रेष्ठ राष्ट्रकवि माधवप्रसाद घिमिरे आकस्मिक निधनले स्तब्ध भएको कुरा बताउँछन् । कुनै एक समय नेपालको सौन्दर्य जगतका एक सशक्त फोटोग्राफरका रुपमा नाम कमाएका फोटोग्राफर राजीव श्रेष्ठ हाल अमेरिकामा बस्दै आउनु भएको छ भने अमेरिकामा पनि फोटोग्राफी पेशामा नै व्यस्त रहँदै आउनु भएको छ । गत महिना हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा अमेरिकामा रहँदै आउनु भएका महिलाहरुकालागि तीज फोटोग्राफिमा व्यस्त रहेका फोटोग्राफर श्रेष्ठले राष्ट्र कविको निधन भएको खबर सुन्दा पनि तीज सम्बन्धी नै फोटो खिंचिरहेका थिए भने अचानक त्यस्तो दुःखद खबर सुन्दा आफु स्तब्ध भएको बताउनु भयो र तत्काल काम नै बन्द गरेको कुरा सुनाउनु भयो । ” अनि त मेरो मनमा अनेक कुरा खेल्न थाल्यो । करीब दसबाह्र वर्ष अगाडि उहाँ मेरो स्टुडियोमा आउनु भएको थियो । त्यहिबेलाको कुरा मेरो मनमा खेल्न थाल्यो । त्यो दिन पुल्चोक ज्वागलमा रहेको मेरो आफ्नै घरको माथिल्लो तल्लामा रहेको स्टुडियोमा उहाँ आउनु भएको थियो । एउटा म्युजिक एल्बमको लागि उहाँको फोटो खिंच्नु पर्ने थियो । ” ख्यातिप्राप्त फोटोग्राफर श्रेष्ठ आफ्नो सम्झनाको पाना यसरी खोल्नु भयो । ” उहाँ त्यतिबेला नब्बे वर्ष जति पुग्नु भएको थियो । त्यो उमेरमा पनि उहाँको जोश हेर्न लायकको थियो । मलाई अहिले पनि सम्झना छ , उहाँको त्यो हँसिलो मुहार । त्यस्तो महान व्यक्ति भए पनि एउटा असल छात्र झैं मैले भनेका पोजहरुमा उहाँले फोटो खिंचाउनु भयो । फोटो खिंच्ने काम सकेपछी क्यामरामा खिंचिएका फोटोहरु हेर्नु भयो । त्यो दिन मेरोलागि एउटा अविस्मरणीय दिन थियो । अब चाहेर पनि त्यो दिन फर्केर आउन सक्दैन । केवल सम्झना मात्र बाँकि रह्यो । ” भनि सम्झनाका शब्दहरु पोख्नु हुने फोटोग्राफर राजीव श्रेष्ठले राष्ट्रले एउटा महान व्यक्तित्व राष्ट्र कवि माधव प्रसाद घिमिरेको निधनमा यसरी सम्झना रुपि श्रद्धान्जली व्यक्त गर्नु भयो । Categorized in सिनेमा


