STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २९, बुधबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

विपक्षी गठबन्धले बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभाको ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

गठबन्धनले नेपालको संविधानको धारा १६८ को २ अनुसार बहुमत पुर्‍याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को ३ अनुसार संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनलाई संसदमा रहेका पाँच दलमध्ये चार दलको समर्थनमा प्रदेश प्रमुखले दिएको समय सीमाभित्र नयाँ सरकारको गठनको दाबी गर्दै पत्र बुझाएको थियो । तर, कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गठबन्धनले बहुमत पुर्‍याउन सकेनन् ।

३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर चाहिन्थ्यो तर दुई जना सांसदले विपक्षी गठबन्धनलाई आफूहरूको समर्थन नभएको पत्र प्रदेश प्रमुखलाई पठाएपछि कांग्रेसका मुख्यमन्त्री प्रस्तावित कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत पुग्न सकेन । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीले आफूहरू तटस्थ रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएसँगै आजै शपथ खुवाउने तयारी गरिएको छ । मुख्यमन्त्री बनेका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

Categorized in राजनीति