गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २, आइतबार
काठमाडौं - गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् ।
चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगततर्फ ५९.१९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तीय व्यवस्थातर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले बजेटको स्रोतका रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ । समानीकरण अनुदानमार्फत सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँट नौ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँट ४८ करोड १० लाख, ससर्त तीन अर्ब १० करोड ११ लाख, समपूरक अनुदान एक अर्ब १९ करोड र विशेष अनुदान ६५ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने मन्त्री गुरुङले बताए ।
एक अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण लिइने उनले उल्लेख गरे ।
Categorized in राजनीति

