STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाउँमा विकास सँगै रोजगारी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिकजसो पदमार्ग निर्माणमा खटिनुहुन्छ । बरंजाको बाहुनपँधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि बजेट आएपछि सापकोटा मात्रै होइन गाउँका तीन दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माणको योजना अघि बढाइएको हो । मुलुक सङ्घीय संरचनामा रुपान्तरण भएसँगै विकास निर्माण योजनाहरु समेत ग्रामीण भेगका स्थानीय बासिन्दाको पहुँचसम्म पुग्न थालेका छन् । स्थानीय सरकारसँगै प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यालयमार्फत खानेपानी, सिँचाइ, पदमार्ग, सडक, भवन, पहिरो नियन्त्रण, झोलुङ्गे पुल निर्माण जस्ता योजनाहरुका लागि गाउँ गाउँमा बजेट निकासा गरेपछि रोजगारीको अवसरसमेत सिर्जना हुन थालेको हो । गाउँमा भित्रिएको विकास निर्माणका योजनाले खाली हात बस्नुपर्ने बाध्यता हटेको धवलागिरि गाउँपालिका–२ लुलाङका लाल बहादुर खड्काथोकीले बताउनुभयो । “लघुजलविद्युत् पुनःनिमाण, झोलुङ्गे पुल निर्माण, पहिरो नियन्त्रण लगायतका योजनाहरुमा ठूलो मात्रामा बजेट आएको छ, काम गरेर खान्छु भन्नेलाई घरदैलोमै रोजगारीको अवसर सिर्जना भएको छ,” उहाँले भन्नुभयो । युवायुवतीदेखि पाका व्यक्तिहरुसमेत अहिले खाली हात बस्दैनन् । लुलाङको खोरियास्थित कमेरो खोल्सामा गएको पहिरो नियन्त्रण योजनामा ढुङ्गा बोक्दै गरेका स्थानीयवासी ७४ वर्षीय मन बहादुर पुर्जाले गाउँ जोगाउन सहयोग पुग्ने र काम गरे बापत पैसा पनि पाइने भएकाले करीब एक महीनासम्म नियमित काम गरेको बताउनुभयो । “उमेर त आराम गरेर खाने हो तर, बसेर खाँदा शरीर झनै कमजोर भएको महशुस हुन्छ, बरु सकेको काम गर्दा नै आनन्द हुन्छ, यस्ता योजनाका लागि बजेट आउँदा गाउँका युवाले पनि काम पाउँछन्,” उहाँले भन्नुभयो । सडक लगायतका केही निर्माण योजनामा डोजरको प्रयोग बढे पनि अन्य विकास निर्माणका योजनाहरुमा भने मानव श्रमको प्रयोग अनिवार्य हुन्छ । जिल्लाका अधिकाँश क्षेत्रमा स्थानीयवासीले नै योजनामा काम गर्ने प्रचलन रहेको छ । कतिपय पूर्वाधार निर्माणका योजनाहरुमा दक्ष जनशक्ति नहुँदा बाहिरबाट लैजानुपर्ने बाध्यता समेत रहेको छ । गाउँमा भित्रिने बजेटले स्थानीय स्तरमा विकासका गतिविधि बढाएको मालिका गाउँपालिका– ५ मगरदाङका कुलबहादुर घर्तिमगरले बताउनुभयो । देउताभिर गुफा जाने पदमार्गका लागि मालिका गाउँपालिकाबाट विनियोजन भएको रु ५ लाख र गण्डकी प्रदेश सरकारको वन, वातावरण तथा पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट थालिएको पदमार्ग निर्माणमा स्थानीयवासीले नै काम गरेको उहाँले बताउनुभयो । सो योजनामा ३०–३५ जनाले करीब तीन महिनासम्म रोजगारी पाए । दुर्गम बस्तीमा पूर्वाधार निर्माणलाई स्थानीय तहले प्राथमिकतामा राखेका छन् । यस्ता योजनाहरुले स्थानीय समस्याहरुको सम्बोधन र केही हदसम्म भए पनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले त्यसतर्फ प्राथमिकता दिइएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “यस वर्ष सञ्चालित योजनाहरुको समग्रमा हामीले स्थलगत अनुगमन गरेका छौँ, बजेटले ग्रामीण बस्ती स्तरसम्म विकास र रोजगारी भित्र्याएको पाएका छाँै,” उहाँले भन्नुभयो । दुर्गम र ग्रामीण भेगमा महिलाले आयमूलक काम गर्न पाउनु निकै दुर्लभ हो । घरायसी र कृषिजन्य काममा मात्रै सीमित रहने महिलाहरु हिजोआज भने विकास निर्माण योजनाका काममा खट्न थालेका छन् । झोलुङ्गे पुल निर्माणका लागि लुलाङ्गदेखि पुलको सामान बोक्न आएकी धवलागिरि गाउँपालिका–१ गुर्जाकी खगी विकले विकास निर्माणले सुविधा र आम्दानीको अवसर बढाएको बताउनुभयो । “पहिले गाउँले आफैंले निःशुल्क काम गर्नुपथ्र्यो, अहिले पुल, बाटो, भवन लगायतका काम गर्दा पैसा आउँछ, हामी खुशी छाँै,” उहाँले भन्नुभयो । विकास निर्माण योजनाले खगी जस्तै धेरै महिला र आमाहरु अहिले चुलोचौकोको घेराबाट बाहिर निस्केर आयआर्जनमा लाग्ने अवसर सिर्जना गरिदिएको छ । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले महिलाहरु पनि विकास निर्माणका योजनाहरुमा सहभागी हुने क्रम बढेको र रोजगारीको कारण आयआर्जनमा समेत टेवा पुगेको बताउनुभयो । उहाँका अनुसार झोलुङ्गे पुलका सामान ढुवानी, पदमार्ग तथा खेलमैदान निर्माण लगायतका पूर्वाधार निर्माणका योजनामा पुरुषसँगै गाउँका महिला र आमाहरु समेत सक्रिय रुपमा सहभागी हुने गरेका छन् । “पहिले खोलाहरुमा वारपार गर्न काठको मुढा हाल्ने गथ्र्यौ, त्यो पनि हरेक वर्ष खोलाले बगाउँथ्यो, बर्खायाममा साँघु बगाउँदा कहिलेकाहीँ त वारपार नै ठप्प हुन्थ्यो,” गुर्जाका ६५ वर्षीय भीम छन्त्यालले विगत सम्झिनुभयो । विगत र वर्तमानमा धेरै परिवर्तन आएको अनुभव सुनाउँदै छन्त्यालले विकासले दुर्गम बस्तीमा सुविधा थपिएको बताउनुभयो । पहिले बाटो बनाउने लगायतका अधिकाँश काम झारा ९श्रमदान० बाट नै हुने गरे पनि पछिल्लो समय बजेट भित्रिन थालेपछि विकासले गाउँमा सुविधा र रोजगारी बढाएको उहाँले बताउनुभयो । कतिपय विद्यालय उमेरका बालबालिकाहरुले समेत विकास निर्माणका योजनामा विदाको दिन काम गरेर पढाइ खर्च जुटाउने गरेका छन् । झोलुङ्गे पुल निर्माणमा लुलाङदेखि सामान बोक्न आएका गुर्जाका लजिम छन्त्यालले विदाको समयमा गाउँमा हुने आयमूलक कार्यहरुमा काम गर्ने गरेको बताउनुभयो । कक्षा १० मा अध्ययन गर्दै आएका उनले लुलाङदेखि एक भारी सामान गुर्जा पु¥याए बापत रु ३ हजारसम्म पारिश्रमिक लिन्छन् ।
Categorized in राष्ट्रिय