STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गिद्ध बढे 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

कुनै बेला वीरलै  देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।
खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा  हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेकोे हिमाली गिद्ध यहाँ भने प्रशस्तै रहेको कार्यालय सहायक प्रमुख संरक्षण अधिकृत प्रशा शाहले बताउनुभयो । पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत  पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले यहाँ हिमाली गिद्धको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ थियो । जिल्लामा यसअघि गिद्धबारे कुनै अध्ययन अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्ष भने गिद्धको सङ्ख्या अधिक देखिन थालेकाले अध्ययनका लागि योजना बनाइने भएको छ ।” 
गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लोपोन्मुख प्रजातिका गिद्ध आए पनि त्यसको संरक्षणबारे कुनै निकायबाट पहल भएको छैन, अब संरक्षणका लागि पहल गर्नुपर्छ ।” नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयपले जनाएको छ । 
डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ । डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुको सिनो गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने र तिनको प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारी बताउँछन् । पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएकाले गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको उनीहरूको  अनुमान छ ।
Categorized in राष्ट्रिय