STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुणस्तरमापन भएपछि लागत कम हुने अनुमान

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमति भएको थियो । यो सहमतिपछि भारत निकासी गर्दा बहोर्नुपर्ने अनावश्यक झन्झटका साथै लागत पनि कम हुने देखिएको छ । यसभन्दा अघि विभिन्न बहानामा भारतीय नाकामै गुणस्तर मापनको नाममा मालबहाक ट्रक थन्किने गरेका थिए । वस्तुको गुणस्तर मापन गराएर नेपाल ल्याउञ्जेल नाकामै मालबहाक ट्रक थन्काउनुपर्ने समस्या समाधान हुने व्यवसायीहरूको अनुमान छ ।परीक्षणका लागि कोलकता लैजान र विभिन्न बहाना बनाएर तीन महीनासम्म भन्सार शुल्क तिरेर मालबहाक ट्रक थन्काउन व्यवसायी बाध्य थिए । अव नेपालमै यस्तो मापन हुने भएपछि अनावश्यक झन्झट हटने नेपाल अलैँची व्यवसायी महासङ्घका सचिव मातृका घिमिरेले बताउनुभयो । ‘हामीले क्वारेन्टाइनको नाममा धेरै समस्या भोग्नुपरेको र यसका नाममा दुई÷तीन महीनासम्म सामान रोकिदिने गरेकामा अब यो समस्या समाधान हुनेमा आफूृहरू आशावादी भएको उहाँले बताउनुभयो । सचिव घिमिरेले भन्नुभयो, ‘‘राज्यले व्यवस्थित तरिकाले क्वारेन्टाइन राख्न सके किसान तथा व्यवसायीलाई धेरै सहज हुन्छ । नेपालको मापनयन्त्रलाई भारतले कसरी हेर्छ र कति समयमा यो निर्माण हुन्छ भन्ने पनि समस्या छ ।’’ विशेषगरी पूर्वी नाका हुँदै जाने अलैँची, अदुवा र चियाको मूल्यसमेत नेपालमै मापन हुने भएपछि व्यापार बढ्ने देखिएको छ । वस्तुको लागत कम हुने भएपछि मूल्य पनि बढ्ने व्यवसायीहरूको भनाइ छ । हालसम्म कृषिजन्य वस्तु नेपाल भित्र्याउनु अघि भारतको पटनामा गुणस्तरमापन हुन्थ्यो भने यता नेपाल भित्रने वस्तु कोलकत्तामा मापन हुने गथ्र्यो । नेपालबाट निर्यात हुने वस्तुको नेपालमै मापन हुने भएपछि कम समयमै परीक्षण गरेर सामन निकासी गर्न सहज हुने देखिएको छ । भारतमा मापन गर्न लैजानका लागि पनि लामो समय कुर्नुपर्ने र त्यसको प्रतिवेदन आएपछि मात्र वस्तु निकासी गर्नुपर्ने बाध्यता हटने नेपाल अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपालले बताउनुभयो । करीब एक महीनाअघि मात्र काठमाडौँमा भारतीय राजदूतको उपस्थितिमा यो सहमति भएको थियो । दुबै देशको वस्तुको गुणस्तरलाई एक अर्काले पालना गर्ने गरी यसको सहमति भएको हो तर नेपालमै गुणस्तरमापन कहिलेदेखि हुन्छ भन्ने हालसम्म एकिन भएको छैन । दुई देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई एक–अर्काले मान्यता दिने गरी यो सहमति भएको हो । खाद्य अनुसन्धान विभागका वरिष्ठ अधिकृत मोहनकृष्ण महर्जनले भन्नुभयो,“दुई देशबीच सहमति भएको हो । काठमाडौँमा भने यो मापन केही समयदेखि नै गर्न सकिन्छ तर अन्य क्षेत्रमा केही वर्ष लाग्छ ।” उहाँले जोड दिनुभयो, “नेपालको विराटनगर नाकामा भने यसका लागि हाम्रो भवन भएकाले केही समयमै गर्न सकिन्छ तर अन्य भारतीय नाकामा भने दुईदेखि तीन वर्ष समय लाग्न सक्छ ।”
Categorized in राष्ट्रिय