STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध पूर्णिमाबाट व्यवसायिक उडान सुरु हुने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ६, शुक्रबार

काठमाडौं - निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। 

२०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको करिब ७० वर्ष पछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा यो विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ। ‘त्रिभुवन विमानस्थलले कोरोना अघिसम्म वार्षिक ७२ लाख यात्रुको भार वहन गरेको थियो। यसले ९२ लाख यात्रुसम्मको भार वहन गर्न सक्छ। विकल्प अपरिहार्य थियो,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । हाल गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख यात्रुहरूलाई सेवा दिन सक्ने बताउँदै उनले भने, ‘अहिले एउटा टर्मिनल भवन छ, दोस्रो टर्मिनल भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाँदैछौं, त्यसपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्छौं।’

व्यावसायिक उडानको पूर्वतयारी अन्तर्गत शुक्रबारबाट गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गरिँदै छ। विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि विशेष विमान भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट बंगलादेश, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बिहीबार साँझ उक्त विमान भैरहवा आइपुगेको हो। उक्त विशेष विमानसँगै पाइलट, को–पाइलटसहित ७ जनाको टोली आएका छन्। 

उक्त विमानले शुक्रबारदेखि विमानस्थलमा जडान गरिएका संचार उपकरण र धावनमार्गमा जडान गरिएको लाइटिङको परीक्षणका लागि उडान सुरु गर्ने विमानस्थल आयोजना प्रमुखले बताए। ‘शुक्रबार बिहानदेखि सम्भवत ७–१० दिनसम्म विमानस्थलमा जडान गरिएका संचार उपकरणलगायतको परीक्षणका लागि क्यालिब्रेसन फ्लाइट हुन्छ’ उनले भने ।

Categorized in राष्ट्रिय