STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरेलु हिंसामा तीन महीना कैदको फैसला

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ८, बुधबार

महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन÷तीन महीना कैद र जनही रु २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरन सिंहले जानकारी दिनुभयो । पीडित महिलाका श्रीमान् नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले २०७६ वैशाख २ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गराएकी थिइन् । कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराधसंहितामा तीन वर्षभन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ । पीडितको उजुरीका आधारमा जिल्ला अदालत दार्चुलाले कसुर ठहर गर्दै कैद फैसला गरेको भए पनि अदालतको फैसला चित्त नबुझेको हकमा ३५ दिनभित्र कसुरदारले उच्च अदालतमा जानसक्ने कानूनी प्रावधानसमेत रहेको श्रेस्तेदार सिंहले बताउनुभयो । दार्चुला जिल्लामा घरेलु हिंसा कसुर सजायमा मुद्दा दर्ता भएर फैसला सुनाइएको यो पहिलो घटना हो । यसअघि घरेलु हिंसासम्बन्धी उजुरी आए पनि प्रहरीको महिला सेलमै मिलापत्रमा टुङ्गिने गरेको छ ।
Categorized in अपराध-दुर्घटना