STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ । एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी तिर्ने पिरले चन्दन जनकपुरधाममा व्यापार गर्ने कि नगर्ने दोसाँधमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला पसलको भाडा रु १० हजार थियो, व्यापार पनि राम्रै थियो, अहिले पसलको भाडा रु ३५ हजार छ, व्यापार छैन ।” तयारी पोशाक व्यवसायी राजकुमार साह चर्को पसलको भाडाले ऋणी बन्न बन्नुभएको छ । विगतमा उहाँको तयारी पोशाकको व्यापार राम्रो श्रेणीमा गणना हुन्थ्यो । अहिले उहाँको पसलमा सामान पर्याप्त छ तर ग्राहक साह्रै न्यून देखिन्छन् । एक वर्षअघि कपडा व्यवसायी गोपाल अग्रवालको कपडा पसलमा भीड हुन्थ्यो, अहिले भीड स्वाँत्तै घटेको छ । जनकपुरधाम उपमहानगरपालिकामा चर्को घर भाडा र मन्द व्यापारका कारण व्यवसायीहरू समस्यामा पर्दै आएका छन् । जनकपुरधाममा भएकामध्ये ६० प्रतिशत व्यवसायी भाडामा पसल लिइ व्यवसाय गरिरहेका छन् । शुरूमा चर्को भाडामा पसल लिइ एक–दुई महीनसम्म भाडा तिरे पनि लामो समयसम्म भाडा तिर्न नसकेकाले अन्यत्र सानुपर्ने अवस्था सिर्जना भएको छ । जनकपुरधाम क्षेत्रमा करीब चार हजारभन्दा अधिक व्यवसायी रहेकामा अधिकांशले भाडामै पसल लिइ व्यवसाय सञ्चालन गरिरहेका छन् । नगरका मुख्य क्षेत्र मिल्स एरिया, भानुचोक, रेल्वे स्टेशन, कदम चोक, शिव चोक, जनक चोक, रामचोक, जानकी चोक, मुरली चोक, क्याम्पस चोक, भमरपुरा चोक र रामानन्द चोकको पसलको भाडा चर्को रहेको बताइएको छ । होटल व्यवसायी शङ्कर साहका अनुसार जनकपुरधामका मुख्य बजार क्षेत्रमा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा घर भत्काएपछि पुनःघर बनाउनेले घरको भाडा सुनको मूल्य झैँ वृद्धि गर्दै आएका छन् । उपमहानगरपालिकाले घर भत्काए पनि त्यसको मुआब्जा नदिएकाले घर धनीले घरभाडा बढाएको उहाँको भनाइ छ । जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह जनकपुरधामको मन्द व्यापार र चर्को पसल भाडाका कारण सात वटा प्रतिष्ठित व्यवसायी यहाँबाट पलायन भइसकेको जानकारी दिनुभयो । समाजका नजरमा प्रतिष्ठित मानिएका ती व्यवसायी ऋणमा डुबेपछि करोडौँ रकम सापटी नबुझाइ यहाँबाट पलायन भएको बताइन्छ । सापटी दिएका साहु र बैंकले उनीहरूको खोज गरे पनि अहिले उनीहरूको कुनै जानकारी प्राप्त हुन सकेको छैन । मन्द व्यापार र चर्को भाडाको अधिक प्रभाव कपडा र किराना व्यवसायीलाई परेको बताइन्छ । विगतमा यस क्षेत्रमा भएका आन्दोलनका कारण यहाँका उपभोक्ताले भारतीय सीमावर्ती क्षेत्रका बजारबाट उपभोग्य सामान ल्याउनुपरेको र हाल पनि अधिकांश उपभोक्ता सीमावर्ती बजारबाटै सामान किनमेल गर्नाले पनि यहाँको व्यवसायीको उठिबास हुन थालेको बताइन्छ । वरिष्ठ उपाध्यक्ष साह भन्नुहुन्छ, “आन्दोलन भयो, उपमहानगरपालिकाले तोडफोड ग¥यो, घर धनीले पसलको भाडा बढाउँदै गए, व्यापार मन्द भयो र व्यवसायी ऋणमा डुबे अनि आफ्नो प्रतिष्ठा जोगाउन यहाँबाट व्यवसायी पलायन हुँदै गए र यो क्रम अझै बढ्दै जाने सम्भावना रहेको छ ।” साहका अनुसार तीन वर्षदेखि यस क्षेत्रमा घर भाडामा वृद्धि हुँदै आए पनि अहिले व्यवसायीको आम्दानीभन्दा अधिक घरभाडा वृद्धि भइसकेको छ । यद्यपि मुख्य बजारमा चर्को भाडा तिर्ने बाध्यात्मक अवस्था रहे पनि जनकपुरधामको पुरानो बजार ९सोनापट्टी० मा सोभन्दा भिन्न अवस्था छ । उक्त बजारमा अन्यत्रकै हाराहारीमा घरधनीले पसलको भाडा वृद्धि गरे पनि भाडामा नलागेको देखिएको छ । पुरानो बजारमा भाडामा नलागेको पसलको सङ्ख्या १५ वटा रहेको बताइन्छ । व्यवसायी गणेश ठाकुर सो बजारमा पहिला घरभाडाका लागि प्रतिस्पर्धा हुने गरेको र हाल आवश्यकता भन्दा अधिक भाडा वृद्धिले व्यवसायीको आँट हुननसकेको बताउँछन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल घरभाडा निर्धारण र निन्त्रणका लागि उपमहानगरपालिकाले पहल गरेमा जिल्लाबाट सहयोग गर्न तयार रहेको बताउनुहुन्छ । यहाँको मुख्य बजार क्षेत्रमा सामान्य पसलको भाडा रु ३० हजार पुगेको बताइन्छ । व्यवसायीका अनुसार घरधनीले शुरूमा लाखौँ रकम पेश्की, धरौटी र मासिक भाडा लिने गरेकाले पनि व्यवसाय नै सङ्कटमा परी पलायनको अवस्था उत्पन्न भएको हो । जनकपुरधामको अस्थिर बजार, महङ्गो घरभाडाका कारण कतिपय व्यवसायीले जनकपुरधाममा व्यवसाय नगरी राजमार्ग क्षेत्रका बजारमा पसल सारेको पनि बुझिएको छ ।
Categorized in राष्ट्रिय