STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र ‘अधुरो’ एक दृश्य पाठशाला

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार गिरीले नेपालको चलचित्र इतिहासबारे जानकारी गराउँदै नवयुवापुस्ताले सन्देशमूलक चलचित्र निर्माण गरेको टिप्पणी गर्नुभयो । नेपाली सामाजिक जनजीवनमा आधारित कथावस्तुले भरिपूर्ण चलचित्र ‘अधुरो’बाट समाजमा रहेको बालविवाह, जातीय भेदभाव, महिला हिंसालगायतका कुरीति र विसङ्गतिका विरुद्ध जनचेतना जोगाउन टेवा पुग्ने उहाँको विश्वास थियो । त्यस्तै वरिष्ठ सङ्गीतकार तथा नृत्य निर्देशक नेपालीले पनि सुर्खेत कला संस्कृति र प्रतिभाको उर्वरभूमि रहेको भन्दै चलचित्रको सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । त्यसैबीच सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले करौडाँै खर्चेर परिवर्तन हुननसकेको संस्कार र विकृतिमा यस्ता चलचित्रले परिवर्तन ल्याउन सक्ने आशा व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषगरी मध्य तथा सुदूरपश्चिम नेपालको ग्रामीण समाजमा विद्यमान संस्कृति एवं संस्कारमा यो चलचित्र आधारित छ । समाजमा अहिलेसम्म पनि कायम रहेको बालविवाह, छाउपडीजस्ता कुप्रथाले दिगो विकासमा पर्ने असरलाई यसले इङ्गित गरेको छ । ‘बिहेबारी, २० वर्ष पारी’ भन्ने सरकारको नारा कार्यान्वयनमा यस चलचित्रले सघाउने निर्देशक राजेश कुमालले जानकारी दिनुभयो । सार्वजनिक ‘अधुरो’ चलचित्रमा सुर्खेतको पर्यटकीय क्षेत्र ‘बुलबुले ताल’ भन्ने बोलको गीत र यसको ट्रिजरमा सुर्खेतकै चर्चित कलाकार टीका पुन र शिवसङ्गीतको आवाज तथा गोविन्द विश्वकर्माको शब्द सङ्गीत रहेको निर्देशक कुमालले बताउनुभयो । कर्णाली प्रदेश तथा देशकै कुसंस्कारका रूपमा रहेको बालविवाह र त्यसपछि देखिने पारिवारिक तथा सामाजिक समस्यालगायत विविध पक्षका विषयमा कथावस्तु समेटिएकाले यो हेर्ने मात्र नभई सन्देश लिने चलचित्र निर्माण गरिएको पुस्ता मिडिया प्रालिका अध्यक्ष रत्न सुनुवारले बताउनुभयो । चलचित्र निर्माता राजेन्द्र खड्का जलनले नेपाली समाजको मनोविज्ञान, जातीय उत्पीडन, घरेलु हिंसा, महिला हिंसाका बारेमा पनि चलचित्रले बोलेको जनाउनुभयो । निर्माता खड्काले रु १३ लाख लागतमा यो चलचित्र निर्माण भएको र अब छिट्टै यसलाई युट्युब तथा चलचित्र हलका माध्यमबाट नागरिक तहमा देखाइने बताउनुभयो । सामाजिक अभियानकर्मी प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा, राजेश कुमालको निर्देशन र गोविन्द विश्वकर्माको शब्द÷सङ्गीत रहेको चलचित्र ‘अधुरो’ मा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, शिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, विक्रम बर्मा, भूमिका परियार, सनोनी कुस्मी, इन्दिरा श्रेष्ठलगायतका सुर्खेती स्थानीय कलाकारले अभिनय गरेका छन् ।
Categorized in राष्ट्रिय