STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ । वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमा गरिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । चाम्बास, दोरदोर, भकुन्थोक, रिट्ठाबोट र भानुजन्मस्थल मार्ग नामकरण गरिएको सो मार्गको करीब ९५ प्रतिशत पूरा भएको छ । यस मार्गलाई नगरपालिकाले नगर गौरवको कार्यक्रममा समेटेकाले स्थानीयवासी खुशी भएका छन् । “सडक स्तरोन्नति हुँदा खुशी लागेको छ”, उक्त नगरपालिका–४ स्थित भालडाँडा सामुदायिक घरवासका अध्यक्ष पदमबहादुर रानाले भन्नुभयो, “नगर गौरवको कार्यक्रममा पारिएकाले आगामी वर्ष कालोपत्र हुने आशा गाउँवासीले गरेका छन् ।” उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु ८० लाख विनियोजन गरेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । चाम्बासदेखि शिखर कटेरीसम्म गरी यो मार्ग करीब १० किलोमिटर लामो छ ।
Categorized in राष्ट्रिय