STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितवन महोत्सवको नाफा क्रिकेट रङ्गशालालाई

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज यहाँ खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न सङ्घसंस्थालाई रु ७१ लाख १३ हजार सहयोगपश्चात् रु ६९ लाख ९९ हजार ७९१ बचत भएको जानकारी दिनुभयो । उहाँले महोत्सवलाई सहयोग पु¥याउने स्थानीय गणेश मन्दिरलाई रु पाँच लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई रु एक लाख, नेपाल आदिवासी जनजाति महासङ्घलाई रु एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई रु तीन लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनलाई रु एक लाख, नेवाः पुचः नारायणगढलाई रु ७५ हजार, नारायणी कला मन्दिरलाई रु ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माण गर्न रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिनुभयो । प्रधानले क्रिकेट रङ्गशालाका लागि रकम थप गरी रु एक करोड पु¥याइने बताउनुभयो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो । खर्च विवरणअनुसार भरतपुर महानगरपालिका आयोजक भएर पनि महोत्सवले महानगरलाई कर भुक्तानी गरेको छ । प्रत्येक कक्षको उठेको रकमको १० प्रतिशतका दरले बहाल कर रु आठ लाख ९५ हजार महोत्सवले महानगरलाई बुझाइसकेको छ । मनोरञ्जन कर रु तीन लाख ५० हजार र महोत्सव परिसर भाडाबापत रु १० लाख महानगरपालिकालाई महोत्सवले बुझाउन विनियोजन गरेको छ । प्रधानले महोत्सवमा बचेको रकमको २५ प्रतिशत आयकर रु १६ लाख ९९ हजार आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाएको बताउनुभयो । महोत्सवको हिसाब सार्वजनिक गर्न ढिलाइ भइरहेको गुनासो आइरहेकाबेला महोत्सव मूल आयोजक समितिले खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गरेका थिए ।
Categorized in राष्ट्रिय