छायाँदेवी कम्प्लेक्सविरुद्ध आईएलओ र युएनमा निवेदन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २२, सोमबार
काठमाडौं – छायाँदेवी कम्प्लेक्स प्रा.लि.विरुद्ध नेपालस्थित आइ.एल.ओ. र यु.एन. कार्यालयमा इमेल मार्पmत निवेदन परेको छ ।
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका सम्पदा अभियन्ता प्रेमराज शिल्पकारद्वारा सन् २०२० मे ३ तारिखमा छायाँदेवीविरुद्ध निवेदन दिएका थिए ।
विश्व प्रसिद्ध पर्यटन स्थल ठमेल जस्तो स्थानमा सम्पदा अतिक्रमण भइरहेको र यसमा नेपाल सरकारका विभिन्न निकायहरुले गैरजिम्मेवारपना देखाइरहेको निवेदनमा उल्लेख छ ।
आदिवासी नेवार समुदायको परम्परागत भूमि तथा सांस्कृतिक अधिकारहरु हनन भइरहेको विषयमा तत्कालै ध्यानाकर्षण गरेर प्रतिक्रिया जनाउन पनि निवेदनमा अनुरोध गरिएको छ ।
थँबहिल अर्थात विक्रमशील महाविहार श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीद्वारा लिच्छविकालीन ११ औं शताब्दीमा निर्मित ऐतिहासिक पुरातात्विक महत्वको कमलपोखरीमाथि राणाकालदेखि अतिक्रमण हुँदै आएको सम्पदा अभियन्ताहरु बताउँछन् । हालको अवस्थामा पुग्दा उक्त पोखरीको संरचनाहरुलाई पूर्ण रुपमा ध्वस्तै पार्न छाँयादेवी कम्प्लेस प्रालिका सञ्चालकहरुले सत्ता र शक्तिको अनाधिकृत रुपमा दुरुपयोग भइरहेको आरोप उनीहरुले लगाएका छन् । नेपालले आदिवासी सम्बन्धी घोषणापत्र र आइ.एल.ओ. १६९ मा हस्ताक्षर गरेको भए पनि काठमाडौंको ठमेल जस्तो स्थानमा सम्पदाको अवस्थाले नेपाल सरकारका कर्मचारीहरु नै सम्पदा मास्नेहरुसित साँझेदारीमा संलग्न रहेको आरोप जनस्तरबाट लगाइँदै आएको छ ।
स्मरणीय छ, २०३३ सालमा गुठी संस्थानको रोहवर बसेर सर्वोच्च अदालतमा कमलपोखरी संरक्षण गर्न मिलापत्र गरिसके पनि विभिन्न रुपमा चलखेल गरेर अम्बिका राणाद्वारा मुद्दालाई उल्टाउने गरेको र सो गरुड भगवान गुठीका भागवत नरसिंह प्रधान लगायत ६ जनाद्वारा सम्पदा रक्षार्थ २०६९ सालबाट पुनःअदालतमा आवाज उठाइरहँदा हालसम्म पनि मुद्दा किनारा नलागेको अवस्था रहेको छ । मुद्दा चल्दै गर्दा पनि कम्प्लेसद्वारा अनाधिकृत चलखेल गरेर भवन निर्माण सम्पन्न गरिसकेको र २०७५ पौष १० गते सो कम्प्लेस उद्घाटन भएको थियो ।
अभियानका सम्पदाप्रेमीहरुद्वारा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै स्थानीय जनता लगायत अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत आफ्ना विरोधका स्वरहरु गुञ्जाइरहेका छन् ।
Categorized in राष्ट्रिय