STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनता आवास कार्यक्रमबाट घर बनाइने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा चालू आवमा २३७ घर बनाइने भएको छ । शहरी विकास तथा भवन डिभिजिन कार्यालयमार्फत यो वर्षका लागि गत वर्ष बाँकी रहेका ८३ सहित नयाँ १५४ घर बनाइने भएको हो । गत आवमा अति विपन्न र अति सीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा यो वर्ष जिल्लाभित्र रहेका कुसुण्डा र वादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत यस पटक चुमनुव्री गाउँपालिकामा रहेका दलित समुदाय, गोरखा नगरपालिकाभित्र रहेका वादी समुदाय, अजिरकोट र सिरानचोक गाउँपालिकाभित्र रहेका भुजेल समुदायबाट पनि विपन्नताका आधारमा छनोट गरी घर बनाइने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै पालुङटार नगरपालिका र गोरखा नगरपालिकाभित्र रहेका कुमाल समुदाय, थुमी र ताकुकोटका वराम समुदायमा रहेका विपन्नता भएका परिवारको छनोट गरी घर बनाउने निर्णय गरिएको प्रमुख थापाको भनाइ छ । कार्यालय प्रमुख थापाले जनता आवास कार्यक्रममार्फत जिल्लाको ध्याल्चोक, मकैसिङ, ताङिलचोक, भुम्लिचोक, ताक्लुङका चेपाङ र माझी समुदायका लागिसमेत घर निर्माणका लागि छनोटको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले छनोटमा परेका घरमध्ये पनि प्राथमिकताका आधारमा घर निर्माणका लागि काम शुरु हुने जानकारी दिनुभयो । कार्यक्रमका लागि प्रदेश सरकारले चालू आवका लागि कूल रु आठ करोड ७९ लाख ३४ हजार बजेट पठाएको उहाँले बताउनुभयो । प्राप्त बजेटबाट गत वर्षको केही रकम तिर्न बाँकी रहेकाले यो वर्ष प्राप्त भएको बजेटले सबै घर निर्माण गर्न नपुग्ने प्रमुख थापाको भनाइ छ । छनोटमा परेकामध्ये एउटा घर निर्माणका लागि रु तीन लाख ३२ हजार ५०० उपलब्ध गराइने कार्यालयले जनाएको छ । उक्त रकम चार किस्ता गरेर प्रदान गरिने बताइएको छ ।
Categorized in राष्ट्रिय