जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ११, बुधबार
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् ।
जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका छन् । अहिले स्थानीयवासीले गाउँ तथा सामुदायिक वनका अग्ला स्थानमा पानी संरक्षणका लागि पोखरी निर्माण अभियान तीव्र पारिएको डाँडाकटेरीका छविलाल बोहराले जानकारी दिनुभयो ।
“गाउँमा पानीका मुहान सुक्न थालेपछि वन्यजन्तु तथा पक्षीले समेत सामुदायिक वन छोडेका छन्, पानी नै नभएपछि स्थानीयवासीसमेत बसाइँ सार्ने मनस्थितिमा पुग्न थालेपछि हामी यसलाई कम गर्न पोखरी संरक्षणमा लागेका हौँ”, बोहराले भन्नुभयो । स्थानीयवासीले अहिले हलोगारे सामुदायिक वनमा तीन पोखरी निर्माण गरिसकेका र यसलाई निरन्तरता दिइने उहाँको भनाइ छ । अग्ला स्थानमा पोखरी निर्माण गर्दा वर्षात्मा पोखरी भरिने र यसले हिउँदमा समेत पानीको अभाव नहुने भएकाले स्थानीयवासीले सो अभियान चलाएका छन् ।
गाउँमा रहेका ७५ घरधुरीबाट जनश्रमदान गरेर पानीका मुहानको संरक्षण गर्ने कार्य पनि सँगै अगाडि बढाइएको स्थानीय खिमबहादुर बोहराले बताउनुभयो । “हलोगारे सामुदायिक वनको रु एक लाख ४० हजार र स्थानीयवासीको श्रमदानबाट पोखरी निर्माण गरिएको छ, यसले जमीनमा पानी रिचार्ज गर्ने कार्य गर्नेछ”, उहाँले भन्नुभयो ।
जलवायु परिवर्तनका असर छिटो–छिटो देखिन थालेका र त्यसले पानीका प्राकृतिक स्रोत पनि सुक्दै गइरहेका बेला यसलाई कम गर्न पानी संरक्षणलाई स्थानीयवासीले प्राथमिकता दिएका हुन् । गाउँमा भएका पुराना पोखरी पुरिदै गएकाले त्यस्ता पुराना पोखरीहरुको पनि स्तरोन्नति गरिएको वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकीले जानकारी दिनुभयो । “वर्षात्को समयमा पानी सङ्कलन हुने गरी हलोगारे, जलुके, दुइटी पोखरीमा पोखरी निर्माण गरिएको छ, यसका साथै पुराना चार पोखरीको समेत स्तरोन्नति गरिएको छ”, उहाँले भन्नुभयो ।
पानीका स्रोत कम भएपछि स्थानीयवासीले पशुपालन गर्नेको सङ्ख्यामा कमी आउन थालेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । “अहिले स्थानीय समुदायले अभियान चलाएर पोखरी निर्माणकार्य गरिरहेका छन्, यसमा गाउँपालिकाले आगामी दिनमा पनि साथ र सहयोग दिनेछ”, वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, “यसका साथै पानीका मुहानल संरक्षण गरी बिरुवा लगाइएको छ ।” चालू आवमा पोखरी संरक्षणका लागि गाउँपालिकाले समेत बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय