जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने जानकारी गराएका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्दै उनीहरूले पार्टी पनि जोगाउनुपर्ने बाध्यता र प्रधानमन्त्री ओलीले आफूहरूका केही माग पूरा नगरेकाले विश्वासको मत दिन नसकिने जानकारी गराएका हुन् ।
'हामीले प्रधानमन्त्रीलाई तटस्थ बस्ने जानकारी गरायौँ । पार्टी पनि जोगाउनु छ, उहाँले पनि हाम्रा सबै माग पूरा गर्नुभएको छैन । त्यसैले पक्ष र विपक्ष दुवैमा नउभिने प्रधानमन्त्रीलाई बतायौँ,' महतोले भने ।
प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि ठाकुर र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । उनीहरूले देउवासँग डेढ घण्टा छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी बढिरहेको छ । त्यसै क्रममा आज महतो र ठाकुरले देउवा र ओलीसँग भेट गरेका हुन् ।


