STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले  प्रस्तुत गरेको छ । 
दश वर्ष साउदीमा बिताएर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ घर फर्किएका डुम्रेले ०७१ सालमा पाँच जनाको समूह बनाएर पञ्चमुखी कृषि फार्म दर्ता गराएर भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । उहाँले रु बीस लाखको लागतमा १० भैँसीबाट व्यवसाय शुरु गर्नुभएको थियो । अहिले उहाँको फार्ममा ४० दुहुना भैँसी, २० जर्सी गाई र ४० पाडापाडी गरी १०० वटा रहेका छन् । फार्मको लागत रु एक करोड ३५ लाख पुगेको डुम्रेले बताउनुभयो । 
शुरुमा पार्टनरमा फार्म सञ्चालन गरे पनि घाटा लाग्यो भन्दै सबैले छाडेपछि अहिले आफूले एकलै सञ्चालन गरेको उहाँले बताउनुभयो । 
आफूले पनि छाड्दा अरू व्यवसायी गर्न चाहने युवाहरुमा नकारात्मक सन्देश जाने भन्दै जसरी भए पनि फार्मलाई निरन्तरता दिएको डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जसोतसो चलाएको छु बीचैमा छाड्दा अरू यस क्षेत्रमा लाग्नेहरुलाई पनि मनोबल घट्न सक्छ । आफ्नै देशमा श्रम गर्नुपर्छ भन्ने सन्देश दिनका लागि भए पनि फार्मलाई निरन्तरता दिएको छु ।” 
आफ्नो फार्ममा १५ जनालाई रोजगारी दिएको र भैँसीका लागि दाना परालका साथै कर्मचारीको तलबमा मासिक करीब रु ६ लाख खर्च हुने गरेको उहाँले बताउनुभयो । सरकारले काम गर भन्ने तर काम गर्ने किसानलाई सहयोग नगरेको गुनासो उहाँको छ । कर्जा लिनका लागि बैंकमा जाँदा बजारको घरघडेरी र जग्गा जमीन खोजेको गुनासो गर्दै उहाँले “त्यसो भए हामीले पहिला बजारमा घर बनाएर मात्रै फार्म खोल्नु प¥यो रु”, भनी प्रश्न गर्नुभयो । 
वास्तविक किसानलाई अनुदानको पछि लाग्ने फुर्सद नहुने बताउँदै सरकारले दिने भनेको अनुदान टाठाबाठाले मात्रै पाएको र आफूहरु जस्ता वास्तविक किसान मर्कामा परेको भनाई डुम्रेको छ । अनुदानभन्दा पनि फार्म धितो राखेर बैंकले सहज रुपमा कर्जा दिनुपर्ने उहाँको भनाइ छ । सहज रुपमा कर्जा पाएको खण्डमा फार्मलाई विस्तार गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । 
दैनिक २३० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका डुम्रेले पाँच रोपनी जग्गामा फार्म सञ्चालन गर्नुभएको छ भने वार्षिक पाँच लाख भाडा तिरेर ९० रोपनी जग्गामा घाँस लगाउनु भएको छ । चरनको अभावले गर्दा घाँस धेरै चाहिने भएकाले तराईबाट पराल र दाना ल्याउने गरेको उहाँले बताउनुभयो । उत्पादित दूध वालिङ र गल्याङ बजारमा बिक्री गर्दै आउनुभएका डुम्रेले बाटोको समस्याले गर्दा ढुवानीमा समेत समस्या हुने गरेको बताउनुभयो । 
कृषिमा धेरै युवा लाग्न चाहे पनि असुरक्षाका कारण यसप्रति ढुक्क हुने अवस्था नरहेको उहाँले बताउनुभयो । आफ्नो फार्ममा धेरै युवा अवलोकनका लागि आउने गरे पनि कृषि पेशा गर्न सोचेजस्तो सहज नभएको बताउँदै उहाँले आफूले फार्मबाट मासिक रु एक डेढ लाख कमाए पनि कतैबाट पनि अनुदान नपाउँदा र बैंकले सहुलियत दरमा कर्जा नदिँदा व्यक्तिसँग चर्को ब्याजमा ऋण लिएर काम गर्नुपर्दा आम्दानी भएको पैसा ब्याज तिर्दैमा सकिने गरेको भन्नुभयो । आवश्यक रकमको अभावमा आफूले चाहेर पनि फार्मलाई थप विस्तार गर्न नसकेको गुनासो उहाँले व्यक्त गर्नुभयो । 
आफूसँग भएको जनशक्तिले नै थप काम गर्न सकिने भए पनि आर्थिक अभावमा विस्तार गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । बिहानदेखि साँझसम्म कामदारसँगै खट्दै आउनुभएका डुम्रेले बजारको व्यवस्थापनमा आफैँ लागेको र उत्पादन भएको दूध बिक्रीका लागि बजारको समस्या नभएको बताउनुभयो । दूध लिनका लागि स्थानीयसमेत फार्ममै आउने गरेका छन् । 
Categorized in राष्ट्रिय