जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार
आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन् ।
जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।
नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् ।
नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति स्थानीय ४२७ घरपरिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो ।
जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका र एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय


