STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जीवनशैली परिर्वतन गर्न सके हृदय रोगको जोखिम कम हुने चिकित्सकहरुको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २४, शनिबार

ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर  आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर अभियानको क्रममा गत साता नशा तथा हाडजोर्नी परीक्षण गरिएकोमा यस पटक मुटुको परीक्षण गरिएको थियो ।   उच्चरक्त चाप र मधुमेह गर्दा   हृदय रोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार बुबहालमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा  ह्रृदय रोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । 

जीवनशैलीलाई परिर्वतन गरी आहार, विहारको नियन्त्रण र व्यायाम जोड्न सकेन भने  ह्रृदय रोगीहरुको संख्या झन् बढ्दै जाने छ भन्ने कुरा  स्वास्थ्य परीक्षणपछि डा. दीपक मिश्रले भन्नुभयो । शिविरमा मधुमेह र उच्चरक्त चापले गर्दा  ह्रृदय रोग भएका बिरामी र भर्खर भर्खर औषधी सेवन गर्न थालेका गरी ८३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । 

एलडीएल कोलेस्टोरले गर्दा मुटुमा समस्या भएका बिरामीहरुले पनि स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य सम्बन्धी चेतना जगाउन सकेन भने मुटुरोगीहरुको संख्या बढ्दै जाने बताउँदै डा. मिश्र, डा. कृृष्णगोपाल महर्जन, डा. उर्मिला शाक्यले महानगरपालिका र वडाले चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने खाँचो औल्याउनुभयो । शिविरमा औषधी पनि निशुल्क वितरण गरिएको थियो भने ईसीजी पनि गरिएको थियो । सो अवसरमा अरनिको समाजका महासचिव डा. सुशील प्रजापतिले शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरु थप उपचारको लागि ललितपुर सामुदायिक हदयरोग सेवा केन्द्र मणिडोलमा आएमा २० प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियानकैै रुपमा शिविर आयोजना गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

आउँदो शनिबार बालिफल (अशोक हलमा) बाल छाला तथा आँखा रोग सम्बन्धी शिविर, फागुण ८ गते नागबहालमा स्त्री रोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ । समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निःशुल्क परीक्षण गरिने कुरा ललितपुर   वडा  १६ का अध्यक्ष शाक्यले बताउनु भयो ।

Categorized in स्वास्थ्य-मौसम