STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जो बाइडेन औपचारिक रुपमा अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित

Janjati Khabar – एजेन्सी | २०७७ मङ्सिर ३०, मंगलबार

अमेरिकी निर्वाचन प्रणाली अनुसार इलेक्टोरल कलेजबाट जो बाइडेन औपचारिक रुपमा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

डेमोक्र्याट नेता बाइडेनले ३०६ इलेक्टोरल मत पाएर विजयी हुँदा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल मत पाएका छन् ।

उनी सन् १९९२ पनि दोस्रो कार्यकालका लागि निर्वाचन जित्न नसक्ने पहिलो राष्ट्रपति हुन् । त्यसबेला बिल क्लिन्टनसँग बहालवाला राष्ट्रपति जर्ज एच डब्लु बुस पराजित भएका थिए । 

जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भए पनि अमेरिकी निर्वाचन प्रणाली अनुसार उनलाई इलेक्टोरल कलेजले औपचारिक रुपमा राष्ट्रपति निर्वाचित गरेको हो । 

राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सम्बोधन गर्दै बाइडेनले जनताको चाहना अनुमोदन भएको बताएका छन् । 

‘फेरि एकपटक अमेरिकामा कानुनी शासन, संविधान र जनताको चाहाना अभिव्यक्त भएको छ,’ उनले भने, ‘हाम्रो प्रजातन्त्रमा धक्का लागेको थियो, संकटमा परेको थियो । तर पुनः एक पटक सत्यको जीत भएको छ, प्रजातन्त्र शक्तिशाली साबित भएको छ ।’ 

बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी छन् । उनी अमेरिकाको इतिहासमा नै पहिलो महिला उपराष्ट्रपति हुन् । 

गत ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा बाइडेन निर्वाचित भए पनि ट्रम्पले हार स्वीकार गरेका छैनन् । उनले निर्वाचनको परिणाम उल्टाउन गरेका सबै प्रयास विफल भएका छन् । 

सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे ।

उनले कतिपय राज्यमा मुद्दा हाले पनि सबै अदालतले उनको दाबी अस्वीकार गरे ।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्निया सोमवार मत हाल्ने अन्तिम राज्य थियो । जहाँ ५५ इलेक्टरल मत छ । त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो ।

मिसिगन र जर्जियाजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो ।

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ । ६ जनवरीमा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ ।

त्यसले २० जनवरीमा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ । इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको संक्रमणकालीन टोलीले घोषणा गरेको छ ।

इलेक्टोरल कलेजबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिएका बाइडेनले आगामी २० जनवरीमा पद सम्हाल्नेछन् । 

Categorized in अन्तर्राष्ट्रिय