झापामा आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३, सोमबार
झापामा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ । आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउन प्रदेश नं १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग भइरहेको जानकारी दिँदै सबै स्थानीय तहलाई आपतकालीन क्वारेन्टाइनको तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो । “सीमा नाकामा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो सङ्क्रमित कोही छैन”, उहाँले भन्नुभयो, “तर भविष्यमा केही भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्याको समाधान गर्न सजिलो हुन्छ ।” प्रजिअ रानामगरले सबै स्थानीय तहलाई वडावडासम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गर्नुभयो । जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाका काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेको स्वास्थ्यपरीक्षण गर्ने काम भइरहेकोे बताउनुभयो । उहाँले हालसम्ममा २४ हजार बढीको स्वास्थ्य जाँच गरिएको जनाउँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न लागेका ज्वरो देखिएका १२ भारतीयलाई फिर्ता पठाइएको जानकारी दिनुभयो । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ट डा पिताम्बर ठाकुरले अस्पतालमा दुई दिनभित्रमा चार वटा बेड भएको आइसोलेसन कक्ष स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग खाली कोठा छैन, इलेक्ट्रोनिक सर्जरी बन्द गरेर त्यही रुमलाई आइसोलेसन कक्ष बनाउँछौं ।” उहाँले सरकारले चाँडै बजेट पठाइदिएमा एक हप्ताभित्रमा पाँच आइसोलेसन कक्ष र दुईवटा भेन्टिलेटरसहितका आइसियू कक्ष बनाउन अस्पताल समिति तयार रहेको बताउनुभयो । बैठकमा स्थानीय तहका प्रशासकीय अधिकृतहरुले आ–आफ्ना क्षेत्रमा तयारीका बारेमा छलफल भइरहेको र आफूहरुले गरिरहेको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । प्रजिअ अधिकारीले सबै कार्यालयका कर्मचारीलाई कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्सको प्रयोग गर्न र सेवाग्राहीका लागि कार्यालयमा साबुन पानीको व्यवस्था गरिदिन कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभएको छ ।


