STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ३, सोमबार

सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटेको हो । सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र सङ्घका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गर्नुभयो ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको सातबुँदे मागलगायत यस क्षेत्रमा देखापरेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक सङ्घका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।
नेपाल आयल निगमले व्यवसायीहरुलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्याङ्कर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्नेगरी सहमति भएको छ ।
हाललाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने र उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको सहज ढुवानी गर्ने सहमति भएको छ । विद्यमान कानुनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित अनुगमन गर्ने विषयमा पनि दुई पक्ष सहमत भएका छन् ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सातबुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोलपम्पहरुमा डिजेल तथा पेट्रोल अभाव देखिएको थियो । इन्धन सहज आपूर्ति रोकिएसँगै पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लागेको थियो ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छभने यी सेवामा बन्द तथा हडताल गर्न वर्जित छ, तर चालकहरु विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका थिए ।

Categorized in राष्ट्रिय