STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तिहारको पिक डिमान्ड १३०५ मेगावाट बिजुली

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ८, मंगलबार

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतकाे पिक डिमान्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको छ ।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनु भयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षमायाको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको प्राधिकरणले जनाएको छ ।

‘बिगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमान्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरू सबै बन्द छन् फेरी तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भई नसकेकोले अहिले विद्युत् माग नआउने समय हो ।’ उनले आन्तरिक रूपमा विद्युत् खपत बढाउनु ठुलो चुनौती रहेको बताए ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमान्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ ।

प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ ।सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ ।

Categorized in राष्ट्रिय