तीन दानवीर र कर्मवीरलाई सम्मान
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरलाई सम्मान गरिएको छ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले यहाँ आयोजित विशेष कार्यक्रममा समाजसेवीहरू श्रीजङ्ग शाह, डा। सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई सम्मान गर्नुभयो ।
नेपालगन्जको आँखा अस्पताललाई अरबौं मूल्य बराबरको दान गर्ने दानवीर श्रीजङ्ग शाह, लाखौँको आँखामा उज्यालो भर्ने डा सन्दुक रुइत तथा जनकपुरमा बसेर अनाथ नवजात शिशुको पालनपोषणमा सक्रिय नीरा देवीलाई उहाँहरुको सेवाको उच्च कदर गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रममा संस्कृतिविद् जोशीले दान नै सबैभन्दा ठूलो तक्मा र विभूषण भएको भन्दै परोपकारको भावनाले सबैलाई उचाइमा पु¥याउने बताउनुभयो । नेकपाका नेता घनश्याम भुसालले यस संस्थाले विदेशमा रहेका नेपालीलाई नेपालसँग प्रत्यक्षतः जोड्ने उल्लेखनीय काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता एवं पूर्व स्वाथ्यमन्त्री गगन थापाले हेल्प नेपाल आफैँमा एउटा प्रभावशाली अभियान भएको उल्लेख गर्दै यसले स्वदेश तथा विदेशमा रहेका नयाँ पुस्तालाई नेपाली माटोसँग जोड्न सक्नुपर्दछ भन्नुभयो । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समाजसेवा र परोपकारी कार्यमा राजनीति मिसाउन नहुने धारणा राख्नुभयो । सो अवसरमा सम्मानीत व्यक्तित्वहरू शाह, डा।रुइत र तेलिनले पनि बोल्नुभएको थियो ।
हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हेल्प नेपालका सल्लाहकार तथा पूर्वमन्त्री शङ्कर कोइराला, हेल्प नेपाल अस्ट्रेलियाका डा राजु अधिकारी, हेल्प नेपाल बेलायतका भगीरथ योगी, अमेरिकाका भक्तबहादुर भण्डारी, एनआरएनका उपाध्यक्षद्वय कुमार पन्त र कूल आचार्य, हेल्प नेपालकी सचिव लता घिमिरे कार्कीलगायतले पनि समाजसेवाका क्षेत्रमा संस्थाले गरेका क्रियाकलापहरुका बारेमा प्रकाश पार्नुभयो ।
सो अवसरमा हेल्प नेपाल अमेरिका तथा अस्ट्रेलियाको समूहले दोलखाको राजकुलेश्वर स्कूल निर्माणका लागि १५÷१५ हजार डलर रकम हेल्प नेपाललाई हस्तान्तरण गरेका थिए ।
Categorized in राष्ट्रिय


