STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन सय जोडी गोसाइँकुण्डमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २६, आइतबार

पुत्रदा एकादशी पर्वका अवसरमा आज हजाराँै भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब तीनसयको हाराहारीमा श्रीमान्÷श्रीमतीको जोडीले गोसाइँकुण्डमा स्नानपश्चात् पुत्र पैदा होस् भनी कामनाका साथ भगवान् शिवको विशेष पूजा आराधना गरेको कुण्डको छेउमा होटल सञ्चालन गर्ने व्यवसायीले बताए । छोराको इच्छा राख्ने दम्पतीले पुत्रदा एकादशीका दिन गोसाइँकुण्डमा पुगी आदर्शपुकार गरेपश्चात् पछिल्ला दिनमा जन्मने सन्तान पुत्रको रूपमा पैदा हुने मान्यता रहिआएको र धेरैजसो गोसाइँकुण्ड पुगेका भक्तजनले भगवान्को वरदानले ‘मेरो इच्छा पूरा भयो’ भन्ने गाउँघरमा जवाफ पाएको अनुभव ज्येष्ठ नागरिकले बताएका छन् । धार्मिक मान्यताअनुरूप ३० गते जनैपूर्णिमाका दिन संसारभर रहेका सम्पूर्ण देवदेवता भगवान् शिवलाई भेट्न पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने र त्यो दिन कुण्डमा फूल अक्षता चढाउँदा सबै देवताको दर्शन मिल्ने विश्वास रहिआएको छ । आ–आफ्नो परम्पराअनुसार लगाइने जनै तथा डोरो बन्धन पूर्णिमाको दिन कुण्डमा चोपलेपछि कुनै मन्त्र उचारण गर्न नपर्ने मान्यतासमेत रहिआएको छ । जनैपूर्णिमाको दिन पवित्र तीर्थको किनारमा तिथिश्राद्व गर्नाले दिवङ्गत पितृले आत्मसम्मान पाउने र बाटोमा अधोगति भएर बसेका सबै पितृ सरासर स्वर्गलोकमा पुग्ने मान्यता रहिआएको पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । आजबाट शुरू भई ३० गतेसम्म चल्ने विशेष पर्वमा १५ हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको बताउँदै गोसाइँकुण्डक्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले आजको पुत्रदा एकादशी पर्वमा स्नान गर्ने हजारौँ यात्रुमध्ये बढीमात्रामा श्रीमान्श्रीमतीको जोडी पाइएको बताउनुभयो । सरकारी मान्यताअनुरूप धुञ्चेबाट गोसाइँकुण्ड पुग्न सात कोस उकालो पैदलमार्ग रहेको छ । गोसाइँकुण्ड जान काठमाडौँदेखि धुञ्चेसम्म भने मोटर सुविधा भएका कारण अहिले काठमाडाँैबाट यात्रा शुरु गरेपछि एकै दिनमा देउराली क्षेत्र क्षेत्रमा पुग्न सकिने यात्रुले बताएका छन् । गोसाइँकुण्डमा स्नान र पूजाआराधना गरेपछि शरीरको रोगव्याधी हट्ने, अञ्जानमा गरेका सबै पाप मोक्ष हुने, नयाँ जोश र नयाँ जागर बढ्ने मान्यता रहिआएको छ । विगतको तुलनामा यस वर्ष यात्रुलाई आकस्मिक उपचारका लागि चिकित्सकको सङ्ख्या वृद्वि हुनुका साथै लेक लागेका यात्रुलाई उद्धारको विविध थप व्यवस्था भएकोले निर्धक्कसाथ गोसाइँकुण्ड यात्रा गर्न सबै यात्रुमा अनुरोध गरिएको समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय