थप १५६ मा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित एक हजार नाघे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १५, बिहिबार
काठमाडौं ः बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको हो ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ । अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन् जसमध्ये १४४ पुरुष र ४३ महिला छन् ।
प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
Categorized in राष्ट्रिय