STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैँमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १९, बुधबार

काठमाडौं- विगतका वर्षमा जस्तो यस वर्ष दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो।

डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ती नोट व्यवस्थापनकै लागि यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए।

‘नोट नै नदिने भन्ने होइन, विगतमा जस्तै यस वर्ष पनि सर्वसाधारणलाई नोट वितरण गरिन्छ । तर नयाँ होइन, सुकिला हो,’ उनले भने।

राष्ट्र बैंकले हरेक वर्ष दसैँ, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ। दसैँ, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ।

दसैँ, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ। यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ। बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन्।

Categorized in बिजनेस