STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैँलक्षित बजार अनुगमन सुरु

Janjati Khabar | २०८१ आश्विन १६, बुधबार

काठमाडौँ, सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, “सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ, सात वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।” मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उहाँले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताउनुभयो । पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब रु छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषद्मा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबारदेखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दसैँ अगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाउनुभयो

 

Categorized in उपत्यका