दाहाल-नेपाल समूह बैठक : ओलीलाई कारबाही, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ७, मंगलबार
काठमाडौँ – बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधान सम्बन्धी प्रस्ताव लगायतका छन् ।
दाहाल-नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ । ’वितरित प्रस्तावबारे केन्द्रीय सदस्यहरुले बोल्नुहुन्छ । सबैका कुरा सुनेरमात्रै निर्णयमा गइन्छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
माधव नेपाललाई अध्यक्ष बनाउने दाहाल-नेपाल समूहको प्रस्ताव
नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको र केन्द्रीय समितिले अनुमोदन गर्ने बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ ।
Categorized in राजनीति

