दु्रतमार्ग निर्माणका क्रममा काटिए २८ हजार रूख
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार
नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् ।
करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो । तत्काल काट्नै पर्ने भएकाले सो सङ्ख्यामा रूख काटिएको र बाँकी ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने उहाँको भनाइ छ ।
सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १ सय मिटरसम्मका रूख काट्नुपर्ने भएकाले वन मन्त्रालयसँग अनुमति लिएर ती परिमाणको रुख काटिएको माहाशाखा प्रमुख पहाडीले बताउनुभयो ।
दु्रतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । वन मन्त्रालय मातहत रहेका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वन सरोकारवाला निकायको रोहवरमा बुझाएको नेपाली सेनाले जनाएको छ ।
वातावरणीय मापदण्डअनुसार एउटा रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ । सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु गरिसकेको छ । सोअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेको जनाएको छ । बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ ।
Categorized in राष्ट्रिय